ट्रम र किम जोङको वार्ता असफल


अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सहमति हुन नसकेपछि छलफल स्थगित भएको ह्वाइट हाउसले जनाएको छ ।

दोस्रो शिखर वार्ताको निर्णायक छलफल हुन नसकेपछि ट्रम्प र किम दुवै आ–आफ्नो होटल फर्किएको सिएनएनले जनाएको छ ।

यसअघि दुवैबीच प्रारम्भिक छलफल भएको थियो । सो क्रममा किमले आफू क्षेप्यास्त्र निशस्त्रीकरणको पक्षमा भएकाले ट्रम्प भेट्न भियतनामा आएको बताएका थिए ।

ट्रम्पले बुधबार राति किमसँगको भेटमा उनको प्रशंसा गरेका थिए । किम महान नेता भएको ट्रम्पले बताएका थिए । किमले यस वैठकले निकास दिने विश्वास व्यक्त गरेका थिए ।

विशेषगरी क्षेप्यास्त्र निशस्त्रीकरणको विषय यस वैठकको केन्द्रविन्दु थियो ।

गतवर्ष सिंगापुरमा भएको पहिलो शिखर वार्तामा उत्तर कोरिया क्षेप्यास्त्र निशस्त्रीकरण गर्न राजी भएको थियो । त्यसयता उत्तरले एकपनि क्षेप्यास्त्र परिक्षण गरेको थिएन ।

तर आफूले सम्झौता पालना गरिरहँदा अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्ध र अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा गर्न चासो नदेखाएपछि उत्तर कोरियाले आफूले सम्झौता पालना नगर्ने चेतावनी दिएको थियो । सोही सम्झौतालाई यस वैठकले पूर्णता दिने अनुमान गरिएको थियो ।

उत्तरले यस वैठकमा आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्ध र अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग गरेको जनाइएको छ । यद्यपी दुवै नेताबीच सहमति हुन सकेन । आज बिहीबार दुवै नेताले सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम थियो ।