छिमेकमा थप तनाव, पाकिस्तानले खसाल्यो भारतका दुई जहाज


एजेन्सी । छिमेकी देश भारत र पाकिस्तानबीच थप तनाव बढेको छ । जम्मु कस्मिर क्षेत्रमा बुधबार भारतका दुई वायु सेनाका जहाज दुर्घटनामा परेका छन् । जसलाई पाकिस्तानले खसाएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए।
पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन्। सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेका जहाज खसालिएको उनको दाबी छ।

भारतीय वायु सेनाको एउटा जहाज पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको छ भने अर्को भारततिरको कस्मिरमा खसेको गफुरले ट्वीटमार्फत जनाएका छन्।
पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको जहाजबाट एक पाइलटलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको उनले जनाएका छन्। भारतीय भूमिमा खसेको जहाजका पाइलट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मंगलबार भारतीय वायुसेवाले पाकिस्तानमा बम खसालेपछि दुई देशबीच तनाव बढेको छ ।