हात्तीपाइलेविरुद्धको अभियान चलेको चल्यै, रोगी उस्तै

0
Shares

बाँके, (नेस)
२०६७ सालदेखि बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ। १५ गतेदेखि नवांै चरणको अभियान थाल्ने तयारी भएको छ।
आठौं चरणसम्म अभियान चल्दा बाँकेमा रोगीको संख्या १३ प्रतिशतमा झरेको छ। अभियान चल्नु अघि बाँकेमा हात्तीपाइलेका रोगी २०।८ प्रतिशत थिए। ठूलो धनराशी खर्च गरेर लगातार अभियान चलिरहँदा बाँकेमा आठ प्रतिशत हाराहारीमात्रै रोगी घटेका छन्।
 छैठौं पटकसम्म अभियान चलेपछि बिरामीको संख्या एक प्रतिशतभन्दा कममा झार्नुपर्ने थियो। बाँकेमा त्यस्तो हुन सकेन। हात्तीपाइले अभियानमा बाँके ‘फेल’ भयो। सोचेअनुसारको नतिजा नआएपछि सरकारले बाँकेमा लगातार अभियान चलाइरहेको छ।
सरकारले सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको थियो। ६१ जिल्लामा थालिएको अभियानमा अझै १५ जिल्लामा जारी नै रहेको छ। बाँकेमा नवौं चरणको अभियान चलिरहँदा कपिलवस्तुमा ११औं चरण शुरु हुँदै छ। ५ नम्बर प्रदेशको बाँके र दाङमा नवौं, बर्दियामा आठौं र कपिलवस्तुमा ११ औं चरणको अभियान शुरु हुँदै छ।
अभियान शुरु भएको ६ वर्षपछि २०७२ मा सर्वे गर्दा हात्तीपाइलेका रोगी १६ प्रतिशतमा झरेको थियो। त्यसपछि २०७४ कात्तिकमा सर्वे गर्दा हात्तीपाइलेको रोगी १३ प्रतिशत देखियो। यो बेला कोहलपुरको रझेना, नेपालगन्जको वडा नं। ४ र बैजापुरमा सर्वे गरिएको थियो। रझेनामा ३ सय २४ जनाको परीक्षण गर्दा ७२ जनामा हात्तीपाइले भेटिएको थियो। नेपालगन्जमा तीन सय जनाको स्याम्पल लिदा २५ जनामा हात्तीपाइले भेटिएको थियो। बैजापुरमा तीन सय १६ जनाको स्याम्पल जाँच गर्दा १७ जनामा हात्तीपाइले भेटियो।
२०६७ सालमा पहिलोपटक अभियान चल्दा ‘सावधानी’ अपनाउन नसक्दा बाँकेवासीले हात्तीपाइलेको औषधी नै खान मानेका छैनन्। महिला स्वयंसेविकाले घर परिवार संख्या गनेर ‘पोको’ दिएको औषधी जथाभावी खाँदा शुरूआती वर्षमा धेरै जना बिरामी परे। औषधीले उल्टो असर गरेको बुझेर त्यसपछिको अभियान चल्दा औषधी खानेको संख्या कम हुँदै गएको छ।