राजधानी काभ्रे हुन्छ– सांसद बैद्य

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसका ३ नम्बर प्रदेश सांसद नरोत्तम बैद्यले प्रदेशको राजधानी काभ्रे हुने बताएका छन् ।

‘गोप्य मतदान हुने हो भने राजधानी काभ्रे हुन्छ यो ग्यारेण्टी हो’ उनले भने ‘काभ्रेमा धेरैको सहमति हुन्छ तर अहिले खुलेर कोही पनि केही भनिहाल्ने पक्षमा छैनन् ।’ अहिले बैठक भइरहेको हेटौंडा हरेक दृष्टिकोणले टाढा र अपायक भएको उनको भनाई छ । मुख्यमन्त्री डोरमणी पौडेल, कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको चाहना हेटौंडा नै राख्ने भएपनि बहुमत त्यो पक्षमा नरहेको बैद्यको दावी छ ।

काठमाडौं–४ बाट निर्वाचित सांसद बैद्यले जता भएपनि छिटै टुंगियोस् भन्ने आफूहरुको एकमत रहेको बताए । ‘जता भएपनि फरक परेन तरपनि हरेक दृष्टिकोणले उपयुक्त हुने ठाउँ होस् भन्ने चाहना हो’ उनले भने ‘काठमाडौंचाहिँ सम्भव छैन किनभने यहाँ हुँदा केन्द्रको ओझेलमा पर्छ ।’ प्रदेशसभा सञ्चालन भएको १ वर्ष बितिसक्दा पनि १, २, ३ र ५ नम्बर प्रदेशले राजधानी र नामको टुंगो लगाउन सकिरहेका छैनन् ।

बैद्यले प्रदेशलाई अधिकार नदिएकोमा पनि गुनासो गरेका छन् । ‘माथि संघ छ तल स्थानीय तह छ तर हामी प्रदेशका सांसद भने निकै अलमलमा परेका छौं, हामीलाई केही पनि अधिकार छैन’ उनले भने ‘३ वटै सरकारबीच समन्वय भएन भने देशको बिकास र समृद्धि हुन सक्दैन त्यसैले संविधानले व्यवस्था गरेको अधिकार र आर्थिक कार्यभार पनि दिइयोस ।’