बेमौसमी वर्षाले कपिलवस्तुमा १० करोड बढीको काँचो इँट्टा नष्ट

0
Shares

सीताराम चौधरी, कपिलवस्तु
मौसमी वर्षाले कपिलवस्तुमा करोडौंको काँचो इँट्टा नष्ट भएको छ। बिहीबार र शुक्रबार एक्कासि परेको बेमौसमी वर्षाले पोल्नलाई तयारी अवस्थामा रहेको काँचो इँट्टा पानीले गलेर नष्ट भएको हो।

माघ महिनामा दुईपटक परेको बेमौसमी वर्षाले १० करोड बढीको काँचो इँट्टा गलेर नष्ट भएको नेपाल इँट्टा व्यवसायी संघका प्रथम उपाध्यक्ष सफर अलि मियाँले जानकारी दिनुभयो। वर्षाका कारण जिल्लाका ६७ वटा इँट्टा उद्योगका काँचो इँट्टा बिग्रिएपछि उद्योगीहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको प्रथम उपाध्यक्ष अलि मियाँले बताउनुभयो। इँट्टाको बीमा नहँुदा पनि इँट्टा उद्योगीहरू मर्कामा परेको उहाँले दुःखेसो पोख्नुभयो। ‘खुला आकाशमुनि जोखिमपूर्ण व्यवसाय सञ्चालन गर्नुपरेकाले इँट्टाको कसैले बीमासमेत गर्न मान्दैनन्। नोक्सानी सहनबाहेक अरू विकल्प छैन।’ –प्रथम उपाध्यक्ष अलिमियाँले भन्नुभयो।

यता चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष एवं लोकप्रिय इँट्टा उद्योगका सञ्चालक जमसेर अलि मियाँले दुईपटकको वर्षाले आप्mनो उद्योगमा १५ लाख बढीको काँचो इँट्टा नोक्सान भएको बताउनुभयो। नेपाल इँट्टा व्यवसायी संघका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका मियाँले कुनै पनि सरकारी तथा गैरसरकारी निकायले बीमा नगरिदिँदा वर्षेनी ठूलो घाटा बेहोर्नुपरेको गुनासो गर्नुभयो।

‘जोखिम मोलेर उत्पादन गर्छौं, तर नोक्सानी भयो भने कतैबाट पनि सहुलियत पनि पाउँदैनौ।’ –इँट्टा उद्योगी कृष्णकुमार चौधरीले गुनासो गर्नुभयो। उद्योग सञ्चालनका लागि विभिन्न प्रक्रियामा कडाइ गर्ने सरकारले इँट्टाको बीमा गर्ने व्यवस्था मिलाउनुपर्ने चौधरीले माग गर्नुभयो।

मौसमले साथ दिएका कारण यस वर्ष उद्योगीहरूले ठूलो परिमाणमा काँचो इँट्टा उत्पादन गरेका थिए। बेमौसमी पानीले ठूलो परिमाणमा इँट्टा नोक्सानी गरेकाले यसवर्ष इँट्टाको अभाव हुने र मूल्यमा समेत वृद्धि हुने सम्भावना बढेको उद्योगीहरू बताउँछन्।