छुट्टाछुटै सवारी दुर्घटनामा ७ को मृत्यु

0
Shares

बुद्ध नेपाली, सिन्धुली
सिन्धुलीमा बिहीबार भएको दुई छुट्टाछुटै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ४७ जना घाईते भएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सात जना घाइते छन् ।

फिक्कल गाउपालिका–१ महादेवडाँडाबाट १२ जना यात्रु बोकेर सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा१५च ९४२२ नम्बरको जिप बिहीबार बिहान अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा फिक्कल गाउँपालिका–२ का ५५ वर्षीया तीलमाया विक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी विक, २५ वर्षीया अनिता महत (न्यौपाने) र वडा नं. ३ का ३५ वर्षीया शान्तिमाया श्रेष्ठ रहेका छन् ।

दुर्घटनाका गम्भीर घाइतेहरु चालक मानबहादुर सुनुवार, गंगामाया विक र दीपक श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारका भइरहेको छ । अन्य ४ जना यात्रु भने सामान्य घाइते रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

घाइतेको सिन्धुलीको खुर्कोट र सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । मृतक ५ जनालाई बिहीबार साँझ पोस्टम्याटका लागि सिन्धुली अस्पताल ल्याइएको डीएसपी थापाले बताउनुभयो । बिहीबार राति मात्रै शव अस्पताल आइपुगेका लागि शुक्रबार मात्रै शव पोस्टम्यार्टम हुने थापाले बता ।

श्रीमतीको अस्पतालमै मृत्यु, श्रीमान्का उपचार हुँदै
बिहीबाार विहान फिक्क्ल–२ का ३५ वर्षका जयप्रसाद न्यौपाने र उनकी श्रीमती २५ वर्षीया अनिता महत (न्यौपाने) सँगै बोलेरो चडेर सिन्धुलीमाढी तर्फ आउदै थिए । अचानक उनीहरु सवार बोलेरो दुर्घटनामा पर्दा श्रीमती अनिता र श्रीमान् जय दुवै घाइते भए ।

दुवैलाई उपचारका लागि सिन्धुलीको गोलन्जोर गाउँपालिका खुर्कोटस्थित शुभजीवन हस्पिटल ल्याइयो । तर जयकी श्रीमती अनिताको हस्पिटलको वाडमा ल्याइपु¥याउन नपाउँदै मृत्यु भयो ।

जयले आफ्नै आँखा अगाडि आफ्नी श्रीमतीलाई गुमाउनु पर्दा पीडा माथि पीडा थपिएको छ । जयको अहिले खुर्कोटस्थित शुभजीवन हस्पिटलमा उपचार भइरहेको छ । एउटै गाउँपालिकाका ५ जनाको मृत्यु भएपछि फिक्कल गाउँपालिका अहिले शोक मग्न भएको छ । गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले दुर्घटनाले गाउँपालिका शोक मग्न भएको बताउनुभयो ।

यसैबीच, बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२, कमेरेफाँटमा जन्ती बोकेको ट्रिपरदुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ४० जना घाइते छन् । रामेछापको खाँडादेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा४ख ९४३८ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।

दुर्घटनामा काभ्रेकी २२ वर्षीय कृष्णमाया माझी र १६ वर्षीय चुन्पाई लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते तिमाल गाउँपालिका–९ का १२ वर्षीय दिनेश तामाङ र निरज माझीसहित ९ जनाको राजधानीको ट्रमा सेन्टर तथा अन्यको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

ट्रिपर चालक खड्क माझीलाई पक्रउ गरी थप अनुसन्धान भइरहेको थापाले बताउनुभयो । बेहुलाबेहुली भने सकुशल छन् ।