मुस्ताङमा भारी हिमपातः जनजीवन प्रभावित, यातायात ठप्प

0
Shares

नेपाल समाचारपत्र, पर्वत
मुस्ताङ्गमा दुई साता अघिको हिउँ पग्लिन नपाउँदै बिहीबार बिहानैदेखि हिमपात हुँदा जनजीवन नराम्रो संग प्रभावित भएको छ भने पर्वतमा बुधबार राति देखिको झरीले जनजीवन प्रभावित हुनुको साथै ग्रामिण क्षेत्रमा यातयात ठप्प बनेको छ ।

मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ, छोसेर, घमी, समरका लगायत क्षेत्रमा माघ १२ र १३ गतेको हिउ पग्लिसकेको थिएन । बिहीबार बिहानैदेखि पुनः हिउँ पर्न थालेपछि अत्याधिक चिसो बढेको महशुस भएको छ । हिमपात र चिसोका कारण घरबाहिर निस्कन सक्ने अवस्था नरहेको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आइतलाल थकालीले बताए ।

हिमपातका कारण भेडा, च्याङग्रा, चौरीगाई लगायत बस्तुभाउलाई आहराको समस्या हुन थालेको जोमसोम ठिनीका कुलबहादुर थकालीले बताए । हिमपात र खराम मौसमका कारण पोखरा–जोमसोम हवाई उठान अवरुद्ध भएको छ । चिसोका कारण पर्यटकीय स्थलहरु सुनसान भएको र स्थानीयबासीको जनजिवन प्रभावित भएको मुक्तिनाथका सुरज गुरुङले बताए । जोमसोम देखि उपल्लो मुस्ताङमा गाडीहरु नछुटेपनि बेनी–जोमसोम सडकमा दिउँसो सम्म सवारी साधन सञ्चालन भइरहेका छन् । मुस्ताङ र म्याग्दीमा यसपाली चौथो पटक हिमपात भएको छ ।

यसैगिरी पर्वतमा झरीका कारण अत्याधिक चिसो बढेको छ । पर्वतको कुस्माबाट दक्षिण पर्वतको हुवास, रानीपानी, लुंखु, कार्किनेटा लगायतका क्षेत्रमा चल्ने बस सेवा ठप्प भएको छ । छिटफाट रुपमा जीप भने चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले बताए ।

पातीचौर र डिमुवाबाट देउपुर, भूकदेउराली, बाजुङ्ग, क्याङ्ग, राम्जा, चित्रे चल्ने यातयातका सबै साधन ठप्प भएका छन । मिलनचोकबाट लेकफाँट, शालिजा , धाइरिङ्ग जाने जीप बाहेक अन्य सवारी साधन चल्न सकेका छैन । एक दुई दिन बर्षा नरोकिएमा कच्ची सडकमा जीप समेत चल्न नसक्ने अवस्था आएको छ ।