कालिञ्चोकमा आज बिहानैदेखि हिमपात

0
Shares

चिरञ्जीवी मास्के, दोलखा  ।
बुधबारबाट मौसममा बदलि भएपछि दोलखाको कालिञ्चोकमा बिहीबार बिहानै देखि हिमपात शुरु भएको छ ।बिहीबार बिहान तीन बजेबाट हिमपात भै रहेको स्थानिय सुनपाती होटलका प्रोपाईटर हरि ओलीले बताए ।

एक सात अघिको हिउँ पग्लन नपाउँदै बिहीबारबाट पुनः हिमपात शुरु भएपछि कालिञ्चोकका होटल व्यवसायी र स्थानिय उत्साहित भएका छन् । लगातार हिमपात भएपछि कालिञ्चोकको गैरीबाट सवारी साधन माथि जान असहज भएको ओलीले बताए । बिहानै देखि हिमपात भएकोले तलबाट पानी ल्याउन समेत कठिन भएको ओलीको भनाई छ । कालिञ्चोकमा अत्यधिक चिसोका कारण पानी जम्ने भएकोले होटल व्यवसायीहरुले गैरीबाट पानी बोकेर कालिञ्चोकमा लैजाने गरेका छन् । बिहानै देखि हिमपात भएपछि चार पाँच इन्च हिउँ जमिसकेको ओलीले बताए ।

बिहीबार बिहानै देखि हिमपात शुरु भएपछि बाहिर निस्कन समेत कठिन भएको कालिञ्चोक कुरीका अर्का होटल व्यवसायी सोनाम शेर्पाले बताए । चिसोकै कारण पर्यटकहरु पनि धेरै पुग्न नसकेको सोनामको भनाई छ ।

३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यो मौसममा लगातार हिमपात भै रहने भएकोले पनि कालिञ्चोकमा प्रसस्तै पर्यटक पुग्ने गरेका छन् । झण्डै ४ हजारको उँचाईमा रहेको मन्दिर परिसरको जलकुण्ड नै कालिञ्चोकको मुख्य विशेषता हो । कालिञ्चोकमा केवलकार सञ्चालन भएपछि पर्यटकको संख्यामा बृद्धि भएको स्थानिय होटल व्यवसायीहरु बताउछन् ।

कालिञ्चोकको कुरीमा झण्डै ४० भन्दा बढी होटलहरु सञ्चालनमा रहेको छ । होटल व्यवसायीहरुले बस्ने र खाने कुरामा अत्यधिक शुल्क लगाएको भनि विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि स्थानिय प्रशासनले चासो दिएको छ । सुनपाती होटलका प्रोपाईटर हरि ओली शुल्कमा केहि व्यवसायीले लापरवाही गरेकोले समस्या आएको तर सञ्चार माध्यममा आएजस्तै चाहिँ नभएको बताउछन् । ट्राभल एजेन्सिहरुका कारण पनि शुल्कमा समस्या आएको ओलीको भनाई छ ।

बुधबार स्थानिय प्रशासनले सबै होटल व्यवसायीहरुसंग छलफल गरी खाने, बस्ने रेट मागेको र उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ लगायत सबैसंग छलफल गरी मूल्य निर्धारणको तयारी गरिरहेको जनाएको छ ।