स्ववियु निर्वाचन अनिश्चित

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
त्रिभुवन विश्वविद्यालयको बेवास्ताका कारण यो वर्ष स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सम्भावना टर्दै गएको छ।
यसअघि फागुन १४ गते हुने गरी तयारी गरेको निर्वाचन तोकिएको मितिमा नहुने निश्चित भएको छ। त्रिविका शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले माघ महिनाभित्र निर्वाचन समिति गठन गरी कार्यतालिका सार्वजनिक नगरे यो वर्ष निर्वाचन हुन नसक्ने दाबी गर्नुभयो।
उहाँले भन्नुभयो– ‘उपकुलपतिलाई निर्वाचन समिति गठन गर्न आग्रह गर्दा बेवास्ता गर्नुभएको छ। समिति नबनेसम्म निर्वाचनको कुनै प्रक्रिया अघि बढ्नै सक्दैन।’

उहाँले उपकुलपतिलाई निर्वाचन समितिमा रहने अधिकारीको नामावली दिन आग्रह गर्दासमेत बेवास्ता गरेको आरोप लगाउनुभयो। निर्वाचन समितिको संयोजक अध्यक्ष शिक्षाध्यक्ष हुने व्यवस्था रहेको छ।

उहाँले भन्नुभयो– ‘फागुन १४ मा त निर्वाचन नहुने निश्चित नै छ। यही अवस्था रहे यो वर्ष निर्वाचन हुन सक्दैन।’ यो वर्ष पनि निर्वाचन नभए अर्को वर्ष नयाँ पदाधिकारी आउने भएपछि निर्वाचन हुन समस्या हुने उहाँले बताउनुभयो।

शिक्षाध्यक्ष त्रिपाठीले त्रिविको क्यालेन्डरमा असर पर्नेगरी कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने स्पष्ट पार्नुभयो। यो वर्ष निर्वाचन गर्न दुई÷तीन दिनभित्र निर्वाचन समिति निर्माण गरी प्रक्रिया थाल्नुपर्छ। ‘अहिलेसम्म न निर्वाचन समिति बनेको छ, न त कार्यकारी समिति नै बनेको छ। यस्तो अवस्थामा निर्वाचन हुन्छ भनेर कसरी भन्नेरु’ –उहाँको प्रश्न थियो।

उपकुलपति प्राडा। तीर्थराज खनियाँले निर्वाचन गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो। उहाँले विद्यार्थी संगठनसंग छलफल गरी निर्वाचनको मिति तय गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले फागुन १४ मा अब चुनाव हुँदैन, अब कहिले गर्ने भन्ने विषयमा छलफल गरिरहेको बताउनुभयो। उहाँले निर्वाचन गर्न राजनीतिक सहमति आवश्यक भएकाले यस विषयमा समेत छलफल भइरहेको दाबी गर्नुभयो।

तीन साताअघि माघ ७ गते त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु निर्वाचन तयारी सम्बन्धमा अध्ययन संस्थान र संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आ·िक क्याम्पसका क्याम्पस प्रमुखहरूसंग छलफल गरेको थियो।

तर सो छलफलले कुनै कार्ययोजना तयार गर्न सकेको थिएन। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर थापाले फागुन १४ गते निर्वाचन हुन नसक्ने स्पष्ट पार्दै यो विषयमा पुनः छलफल अघि बढाउने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘सबै विद्यार्थी संगठनसंग छलफल गरेर नयाँ मिति घोषणा गर्ने योजना बनाएका छौं।’

फागुन १४ गते निर्वाचन गर्न त्रिविका पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री केपी ओली, अनेरास्ववियु, नेविसंघलगायतका विद्यार्थी संगठनसंग छलफल गरेको थियो।

लगत्तै प्रधानमन्त्री ओलीले नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवासँग भेट गरी स्ववियु निर्वाचन गर्ने विषयमा छलफल गर्नुभएको थियो।

सो छलफलमा नेपाली कांग्रेसले यस्तो अवस्थामा निर्वाचन गर्न नसकिने आशय व्यक्त गरेपछि त्रिविले निर्वाचन प्रकृयाबाट पछि हटेको हो। नेविसंघका सहमहामन्त्री प्रेमराज जोशीले राजनीतिक अवस्था असहज भएको बेला निर्वाचन गर्न असम्भव हुने बताउनुभयो।
‘अब नयाँ ढंगले छलफल गरेर मात्रै निर्वाचनको विषयमा संघले आफ्नो धारणा राख्न सक्छ’ –उहाँले भन्नुभयो। फागुन १४ गतेको निर्वाचन टरिसकेको अवस्थामा नयाँ मिति तय गर्न त्रिविले पुनः सबै विद्यार्थी संगठनसंग छलफल गर्नुपर्ने उहाँले बताउनुभयो।

अनेरास्ववियु ९क्रान्तिकारी० का अध्यक्ष रंजित तामाङले स्ववियु निर्वाचन फागुन १४ गते नहुने निश्चित भएपछि त्रिविले तत्काल नयाँ मिति तय गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘यस विषयमा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेविसंघका पदाधिकारीबीच छलफल भइरहेको छ।’

अनेरास्ववियुका महासचिव ऐन महरले त्रिविकै कारण फागुन १४ गतेको निर्वाचन स्थगित हुनपुगेको बताउँदै तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्नुभयो।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले स्ववियु तत्काल स्ववियु निर्वाचन गर्न दबाब दिन त्रिविका पदाधिकारीसंग भेट्ने तयारी गरेका छन्।

निर्वाचनको विषयमा छलफल गर्न अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी छुट्टाछुट्टै रूपमा सहभागी हुने गरेका छन्। त्रिवि विद्यार्थी कल्याण निर्देशनालय प्रमुख थापाले त्रिविअन्तर्गत ६१ आंगिक र झण्डै २ सय ५० क्याम्पसमा निर्वाचन गर्ने तयारी गरेको जानकारी दिनुभयो।