१० लाख धरौटी बुझाएर छुटे पूर्वगभर्नर रावल

0
Shares

काठमाडौँ,
दश रुपैयाँ दरको पोलिमर नोट छपाइको विवादमा तानिएका नेपाल राष्ट्र बैंकका पुर्वगभर्नर तिलक रावल १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । सोमबार सकिएको थुनछेकको बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीश रत्नबहादुर बागचन्द र सदस्य न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले रावलसँग १० लाख रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको थियो । रावलले अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

करिब १६ वर्ष पुरानो अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाईमा भ्रष्टाचार भएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही पुस ५ गते रावल, राष्ट्र बैंक नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट भनिएका हिमालयबहादुर पाण्डेविरूद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । उनीहरु तीनैजनाविरुद्ध अख्तियारले ९१ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा चलाएको थियो ।

मिलेमतो गरेर स्थानीय एजेन्टमार्फत् अवैध लेनदेन गरी गुणस्तरीहन पोलिमर नोट छापिएको दाबी अख्तियारले गरेको थियो ।