बर्थिङ सेन्टरमा बच्चा जन्माउने आमालाई थप एक हजार

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङको जन्तेढुंगा गाउँपालिकाले स्थानीय बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने आमाको लागि थप एक हजार बढि यातायात खर्च दिने तयारी गरेको छ । स्वास्थ्य संस्थामा गएर सुरक्षित भई बच्चा जन्माउनका लागि प्रोत्साहित गर्न गाउँपालिकाले थप एक हजार बढाएर ३ हजार यातायात खर्च दिने निर्णय गरेको हो ।

स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने आमालाई राज्यले जनही २ हजार यातायात खर्च दिने गरेकामा गाउँपालिकाको तर्फबाट थप एक हजार थपेर यातायात खर्च दिने निर्णय भएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक पवन पोखरेलले बताउनुभयो ।

यस्तै, गाउँपालिकाले २ वर्षसम्म बच्चाको नियमित बृद्धि अनुगमनमा आउने अभिभाबकलाई समेत वर्षमा एक पटक एक हजार यातायात खर्च दिने व्यवस्था मिलाएको छ । बच्चाको नियमित बृद्धि अनुगमनमा आउने बाबुआमालाई यातायात खर्च दिनका लागि गाउँपालिकाले छुट्टै बजेटको व्यवस्था गरेको जनाएको छ ।

यस्तै, जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानको सिक्किमटारमा बजेट व्यवस्था गरेर स्वास्थ्य इकाई सेवा सुरु गरिएको, गाउँपालिकाले गर्भावस्थाको जाँचका लागि गाउँ–गाउँमा जाने स्वास्थ्यकर्मीलाई ३० हजार रकम व्यवस्था गरेको स्वास्थ्य शाखाले जनाएको छ ।