मानवसेवा आश्रमलाई बीस करोडको जग्गादान

0
Shares

हेटौंडा,(नेस) ।

प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलालले मानवसेवा आश्रम चितवनको भवन निर्माणका लागि प्रदेश सरकारको सहयोग रहने बताउनुभएको छ । मानवसेवा आश्रम चितवन शाखाको आयोजनामा भएको कार्यक्रममा गृहारम्म गर्दै उहाँले मानवसेवा आश्रमका संरचनाहरु निर्माण गर्न प्रदेश सरकारको विशेष सहयोग रहने बताउनुभएको हो ।

कार्यक्रममा उहाँले भन्नुभयो–सहयोगापेक्षी मानवहरुको उद्धार, उपचार, पालनपोषण लगायत व्यबस्थापनमा आश्रमले परोपकारी नेपाली मनहरुको स्वेच्छिक सहयोगबाट गरिरहेको छ । आश्रमको भौतिक संरचना निर्माणको लागि प्रदेश सरकारले सहयोग गर्नेछ ।

भवन निर्माणका लागि भरतपुर–३, बेलचोकमा करिब २० करोड बराबरको आठ कठ्ठा जग्गा स्व. भगवानदास श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ एवम् श्रेष्ठ परिवारले आश्रमलाई उपलब्ध गराएको हो ।

‘धेरै स्थानबाट पहिलेदेखि कुरा आए पनि मानवसेवा आश्रमले हाम्रो मन जित्यो । बालअस्पताल स्थापना गरेर सेवा गर्ने भाइ भगवानदासको सपना अब पूरा हुने भएको छ,’ जग्गादाता प्रेमकुमार श्रेष्ठले भन्नुभयो–सहयोगापेक्षीको सेवा गर्ने पवित्र मन्दिर बन्न लागेकोले हामी खुशी छौं ।

स्व. भगवानदास श्रेष्ठकी दिदी मैयादेवी श्रेष्ठले कसैले पनि मरेर जाँदा केही लिएर नजाने बताउँदै स्वर्गीय भाइको सेवाभावले सार्थकता पाउन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

दुई वर्षभित्र भवन निर्माण सकी गृहप्रवेश गराउन लक्ष्य लिएको आश्रमले निर्माणपश्चात् २ सय जना सहयोगापेक्षी मानवलाई सेवा दिन सक्ने संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । भवन निर्माणको लागि कम्तिमा चार करोड आवश्यक रहेको अधिकारी बताउनुहुन्छ ।