कुपिन्डे नगरपालीमा विद्युत विस्तार गर्ने तयारी

0
Shares

सरिता चलाउने, सल्यान ।
पश्चिम सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाका सबै वडामा यस वर्ष विद्युत विस्तार गरिने भएको छ । सबै वडाका वस्तीमा विद्युत विस्तार गर्ने योजना रहेको नगरप्रमुख गोविन्द पुनले जनाएका छन् ।

नगरपालिकाले विद्युतिकरणका लागी एक करोड ३० लाख रुपैयाँ विनियोजन गरेको जनाउँदै उनले अध्यारो हटाएर विजुली वत्तीको उज्यालोमा रमाउने नगरवासिको चाहना पुरा गर्न आफुहरु लागीपरेको जनाए ।

उनका अनुसार नगरको बजेटले वडा नम्बर ४, ५, ६ र ७ मा यस वर्ष पोल र तार तानीने छ । यस्तै सघिय सरकारबाट पनि नगरपालिकामा एक करोड २० लाख रुपैयाँ विनियोजन भएकाले अन्य वडामा पनि यसै वर्ष विद्युत विस्तार हुने नगरप्रमुख पुनले जानकारि दिए । यस्तै प्रदेश सरकारबाट पनि विद्युतमा बजेट विनियोजन भएकाले विजुली नपुगेका वडाका वासिन्दाको वत्ती बाल्ने चाहना पुरा हुने उनको भनाइ छ ।

उनले नगरवासिको विकासको चाहनालाइ पुरा गर्न नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको जनाउदै पुनले कृषि, पर्यटन, सडक, पशु, शिक्षा र खेल क्षेत्रको विकासमा विशेष ध्यान दिइएको बताए । यस्तै खानेपानी तथा फोहोर व्यवस्थापनमा पनि नगरको ध्यान पुगेको बताए ।

बन्गाड कुपिन्डे नगरपालिका प्राकृतिक सौन्दर्यताले धनी र धार्मिक एवम् पर्यटकीय स्थलको प्रचुरता रहेको स्थानिय तह हो । यी सम्पदाहरुको विकास र प्रचारप्रशार गरि नगरको पर्यटकीय क्षेत्रको विकास मार्फत आम्दानी बढाउने र रोजगार श्रृजना गर्नेगरि काम भइरहेको नगरप्रमुख पुनले बताए ।

उनका अनुसार वडा नम्बर ८ मा रहेको जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र कुपिण्डे दह लगाएत तारुपरे सिद्ध गुफा, निगालचुला लेक, कृष्ण मन्दिर, मैदु पोखरि र अन्य धार्मिक तथा पुरातात्विक मन्दिरहरू बन्गाड कुपिन्डे नगरभित्र रहेका छन् ।