कलिङ भिसा भएकालाई मलेसिया जान अन्तिम स्वीकृति दिन थालियो

0
Shares

काठमाडौं,
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा आइसकेकालाई मलेसिया जानका लागि अन्तिम स्वीकृति दिन सुरु गरेको छ । सरकारले माघ ४ गतेदेखि अन्तिम स्वीकृति दिन थालेको हो । तर कलिङ भिसा आएका व्यक्तिहरुले पनि अन्तिम स्वीकृतिका लागि नेपालस्थित मलेसियन दूतावासबाट सोझै भिसा प्राप्तिको प्रक्रिया अवलम्बन गर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले माघ २ गते श्रम कार्यालय ताहाचाललाई पत्र लेख्दै मलेसियाको ओटा टनेल स्क्वाड कम्पनीमा काम गर्नका लागि नेपाली कामदार पठाउन मलेसियास्थित कम्पनीबाट पत्र आएको र दूतावासले सोझै प्रक्रिया सुरु गरेको भन्दै अन्तिम श्रम स्वीकृति दिन सुरु गरेको हो ।

यसअघि श्रम मन्त्रालयले नेपालस्थित मलेसियन दूतावासलाई कलिङ भिसा आएकालाई दूतावास आफैंले प्रक्रिया सुरु गरी जान दिन आग्रह गरेको थियो । तर दूतावासले भने जनशक्तिको अभाव देखाउँदै आफैंले प्रक्रिया सुरु गर्न नसक्ने बताएको थियो । तर माघ ४ गते दूतावास आफैंले वैदेशिक रोजगार विभागलाई पत्र लेख्दै कलिङ भिसा आएका २३ जनालाई अन्तिम स्वीकृति दिन आग्रहसहितको पत्र पठाएको थियो ।

नेपालस्थित मलेसियन दूतावासले १८ जनवरीमा वैदेशिक रोजगार विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मलेसियाको ओटा टनेल स्क्वाड कम्पनीमा काम गर्नका लागि अन्तिम स्वीकृति दिन २३ जना नेपाली कामदारको सूची नै पठायो । कम्पनीमा काम गरी फर्किएकालाई दोस्रो पटकको श्रम स्वीकृति प्रदान गर्न रोजगारदाता कम्पनी र दूतावासले आग्रह गरेपछि श्रम विभागले अन्तिम स्वीकृति दिएको हो । भिक्की विकसहितको २३ जनाको टोलीलाई विभागले अन्तिम स्वीकृति दिएसँगै कलिङ भिसा पाइसकेकाहरुले मलेसिया जान पाउने बाटो खुलेको हो ।

विभागका महानिर्देशक दिलिप चापागाईँका अनुसार अब दूतावासले आफै भिसाको सबै प्रक्रिया सुरु गरी औपचारिक पत्र पठाएमा उनीहरुलाई अन्तिम स्वीकृति प्रदान गरिनेछ । पत्रमा व्यक्तिको नाम, पासपोर्ट नम्बर र काम गर्न जाने कम्पनीको नाम तथा ठेगाना अनिवार्य रुपमा उल्लेख हुनुपर्ने विभागले बताएको छ ।

गएको जेठ २ गतेदेखि बन्द भएको मलेसिया रोजगारी बल्ल खुलेको हो । गएको कात्तिक १२ गते नेपाल र मलेसिया सरकारबीच कामदारको आपूर्तिसम्बन्धि सहमति भएपछि कामदार पठाउने बाटो खुलेको थियो ।