९ हजार घुस लिने वडा सचिव स्थानीयको दबावमा पक्राउ

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।
मेचीनगर नगरपालिका वडा नम्बर २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई ९ हजार रुपैया घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय पूर्णबहादुर तामाङ्सँंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुस लिएको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीयबासीले कारबाहीको माग गर्दै वडा सचिबलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

सेवाग्राहीसँंग पटक पटक घुस लिएको गुनासो आईरहेको र गत शुक्रबार नागरिकता सिफारिसमा घुस लिएको भन्दै आईतबार विहान १० बजेदेखी नै स्थानीयबासीले वडा कार्यालय घेराउ गरेका थिए । घुस्याहा कर्मचारीलाई कार्यालयमा राख्न नहुने भन्दै स्थानीयले बिरोध जनाएपछि प्रहरीले वडा सचिब घिमिरेलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।

घट्ना बिवरण अनुसार केही दिन अघि स्थानीय तामाङ् आफ्नी श्रीमति सञ्चली तामाङ्को नागरिकता बनाउन वडा कार्यालय पुगेका थिए । सासुको नागरिकता रामेछापबाट बनाएकोले झापाबाट सञ्चलीको नागरिकता बनाउन झन्झटिलो प्रक्रिया रहेको भन्दै जिल्लामा मिलाईदिने बहानामा वडा सचिब घिमिरेले आफूसंँग १० हजार मागेको पीडित तामाङ्को आरोप छ ।

नागरिकताको प्रक्रियाका बारेमा केही थाहा नभएका तामाङ्ले श्रीमतीको नागरिकता बनाउनकै लागि छिमेकीसंँग ऋण मागेर गत शुक्रबार वडा सचिब घिमिरेलाई ९ हजार बुझाएका थिए ।

गत शुक्रबार बिहान ८ बजे नै वडा सचिब घिमिरेले पैसा लिएर वडा कार्यालय आउनु भनेर तामाङ्लाई भनेकाले तामाङ्ले माघ ४ गते शुक्रबार बिहान ८ बजे नै वडा कार्यालयमा पुगेर सचिब घिमिरेलाई ९ हजार रकम बुझाएका थिए । धुलाबारी घर भएका वडा सचिब घिमिरे पैसा लिनकै लागि कार्यालय समयभन्दा २ घण्टा अगाडी वडा कार्यालय पुगेको स्थानीयले जनाए । सचिव घिमिरेलाइ प्रहरी टोलीले पक्राउ गरी मेचीनगर नगरपालिका बुझाइएको ईलाका प्रहरी कार्यालय काकँडभिट्टाका डिएसपी महेश थापाले जनाए । वडा सचिब घिमिरेले आफूले नागरिकता बनाउन सहयोग गरेको तर पैसा नलिएको दाबी गरे ।

नागरिकताको सिफारिस गरेको तर पैसाको बारेमा केही जानकारी नभएको वडा अध्यक्ष तिलक न्यौपानेले बताए । सेवाग्राहीसँग पैसा लिएको कुरा प्रमाणित भए वडा सचिबलाई कानून बमोजिम कारबाही हुने अध्यक्ष न्यौपानेले बताए ।