शिक्षामा सुधारका लागि आवश्यक निति निर्माण अपरिहार्यः सभामुख

0
Shares

धनवीर दाहाल,रुकुम ।
कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले शिक्षामा सुधार ल्याउनको लागि आवश्यक निति बनाउनु पर्ने र निती निर्माण गर्दा संस्थागत विद्यालयका प्रतिनिधिहरुलाई पनि सहभागिता गराउनुपर्ने बताउनुभयो । उहाँले निजी तथा आवासीय विद्यालयहरुलाई उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनदेखि आतंकित नहुन आग्रह गर्नुभएको छ ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा भएको निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) कर्णाली प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सभामुख शाहीले आयोगको प्रतिवेदन सार्वजनिक नभईसकेको अवस्थामा आतंकित हुनु राम्रो नभएको बताउनुभयो ।

संघीय सरकारले अहिलेको सन्दर्भमा संविधानका मौलिक हक कार्यान्वयन गर्न शिक्षा क्षेत्रमा के कस्ता नीति लिने भन्ने विषयमा सुझाव दिन बनाएको आयोगले पक्कै पनि राम्रो प्रतिवेदन ल्याएको हुनुपर्ने उहाँको भनाई छ ।
संविधान कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवारपूर्वक काम गरिरहेको अवस्थामा सबै क्षेत्रले सहयोग गर्नुपर्नेमा सभामुख शाहीले जोड दिनुभयो । ‘सरकारहरुले संविधानले निर्देशन गरेको बाटो र जनताको अपेक्षाभन्दा फरक किसीमले काम गरेमा खबरदारी गर्न सक्नुहुन्छ ।’

उहाँले अधिवेशनका प्रतिनिधिहरुसँग भन्नुभयो, ‘तर तपाईहरु पनि समाजको हिस्सा भएकोले संविधान अनुसार बनाउने नीतिमा समर्थन र सहयोग गर्नुपर्ने हुन्छ ।’ राज्यको तीनखम्बे अर्थनीति अनुसार सरकारी, नीजि र सहकारी क्षेत्रमा रहेको पुँजीलाई एकीकृत गर्दै न्यायिक वितरण गर्ने सन्दर्भमा सबैको सहयोग र सहकार्य जरुरी रहेको समेत उहाँले औंल्याउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभाका सांसद गोपाल शर्माले शिक्षाको व्यापारीकरण अन्त्य गर्नुपर्ने भएकोले त्यसमा सहयोग गर्न निजी विद्यालयहरुलाई आग्रह गर्नुभयो ।

संविधानले नै निःशुल्क शिक्षाको व्यवस्था गरेपछि निजी विद्यालयका नाममा व्यापार गर्न नहुनेमा उहाँले जोड दिनुभयो । सरकारले नीति निर्माण गरेर निजी विद्यालयहरु बन्द गर्नुपूर्व मुआब्जा समेत दिन सक्ने भएकोले अहिल्यै नआत्तिन समेत आग्रह गर्नुभयो ।

अर्का प्रदेश सांसद देवी ओलीले निजी विद्यालय र सरकारबीचमा आपसी द्वन्द्व सिजना नगरी समन्वयात्मक तरिकाले समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रिय अध्यक्ष विजय सम्वाहाम्फेले आन्दोलन नगरेरै पनि आफ्ना मागहरु सम्बोधन गराउन सकिने भन्दै प्याब्सनकर्मीहरुलाई संयमित भएर लाग्न आह्वान गर्नुभयो ।

प्याब्सनकर्मीहरुका केही आचरणकै कारणले सरकारले विश्वास गर्न नसकेको भन्दै त्यसलाई सुधार गरेर समन्वयात्मक तरिकाले अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुसिकोट नगरपालिका –५ स्थित न्यू मुनलाईट बोडिङ स्कुलमा भएको उक्त अधिवेशनमा प्याब्सन केन्द्रिय पदाधिकारी, सल्लाहकार, प्रदेश समितिका पदाधिकारी लगायत कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी निजी तथा आवशीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कर्णाली प्रदेशको अध्यक्षमा पुनः नैनसिंह खत्री निर्वाचित हुनुभएको छ । रुकुम पश्चिमको मुसीकोटमा भएको प्याब्सनको कर्णाली प्रदेशको दोस्रो अधिवेशनले खत्रीलाई सर्वसम्मत पुनः अध्यक्षमा निर्वाचित गरेको हो । बरिष्ठ उपाध्यक्षमा खडकबहादुर कँवर र सचिवमा नोखवहादुर खत्री पनि पुनः निर्वाचित हुनुभएको छ ।

अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र सचिवमा पुरानै दोहोरिनु भएको छ भने भने अन्य पदाधिकारी र सदस्यहरु नयाँ निर्वाचित भएको प्याब्सन कर्णाली प्रदेशले जनाएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा दिपेन्द्र बिष्ट र सुमबहादुर बुढा, कोषाध्यक्ष राजबहादुर शाही, सह सचिव झलक बुढा र सह कोषाध्यक्षमा हरि रेग्मी निर्वाचित हुनुभएको छ । सदस्यमा हरिबिष्णु ओली, झकबहादुर भण्डारी, जितेन्द्र भुषाल, प्रकाश शाही, उपेन्द्र खड्का, देवेन्द्र ओली र वीरबहादुर बुढाथोकी रहनुभएको छ ।