रामेछापमा बस दुर्घटना, १ जनाको ज्यान गयो, १७ घाइते

0
Shares

रामचन्द्र वि.क, रामेछाप ।

जिल्लाको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुङ्गा जिल्लाको फुलबारी घर भएका वर्ष ३६ का ओम कार्की रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनमा परि घाइते भएका १७ जना मध्य ३ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको छ ।

घाइते हुनेहरुमा रामेछाप जिल्लाका निरोज भुजेल, गौतम भुजेल, नारायण कार्की, सरोज कार्की, भक्तबहादुर भुजेल, इश्वरी महत, युनिषा भुजेल, अजय भुजेल रहेका छन् । त्यसैगरी ओखलढुङ्गाका नवराज पाण्डे, खड्ग भुजेल, मिलन गुभाजु, चिना माया माझी, अर्जुन तामाङ बर्दिया जिल्ला घर भएका भोलाराम थारु, बलदेव थारु लगायत १७ जना रहेका छन् ।

घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जान लागेको बा४ख४२१० नम्बर अरनिको यातायातको सुपर बस ब्रेक फेलभई दुर्घटना जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

ओरालो कालोपत्रे सडकमा गुडिरहेको बसको एक्कासी ब्रेक फेलभएपछि चालकले दुर्घटना हुनबाट जोगाउँन सडकको भित्तातिरको गल्छीमा बस उकालेका थिए ।

बस दुर्घटना हुनबाट जोगाउँन गल्छीमा उकाल्दा बस पल्टिएको थियो । बस पल्टिने क्रममा कार्कीलाई बसले किचेपछि घटना स्थलमै मृत्यु भएको थियो ।