महानगरका मुख्य सम्पदाको गुरुयोजना बन्दै

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका मुख्य सम्पदाको गुरुयोजना तयार गर्ने भएको छ। काठमाडौंको पहिचान दिने ऐतिहासिक र पुरातात्विक स्थानको संरक्षण गर्न गुरुयोजना निर्माण गर्न लागेको महानगरले जनाएको छ।

महानगरले हाँडीगाँउ, पचलीक्षेत्र, कंकेश्वरी, लख तीर्थ र इन्द्रायणी क्षेत्रको गुरुयोजना निर्माण गर्न लागेको हो। कामपाले सबै क्षेत्रका वडा अध्यक्ष, स्थानीय सरोकारवालाबीच छलफल शुरू गरिसकेको छ। कामपा सम्पदा विभाग प्रमुख रामबहादुर थापाले सबै ऐतिहासिक र पुरातात्विक स्थानको योजना, नक्सा डिजाइन तयार गर्न लागिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘सबै क्षेत्रको नक्सा तयार भएपछि बजेट विनियोजन गरेर काम शुरू गर्नेछौं।’

कामपाले ती क्षेत्रको पुरातात्विक मठ–मन्दिर, चिहान, घाटलगायत क्षेत्रको भौतिक अवस्था, ऐतिहासिक पृष्ठभूमि, निर्माण भएको समयलगायतका विषयमा अध्ययन गर्ने भएकोे छ। कामपा मेयर विद्यासुन्दर शाक्यले बजेट विनियोजन गरेर पनि काम गर्न नसकेको अवस्थामा सबै वडाका सम्पदा क्षेत्रको विकास र विस्तार गर्न गुरुयोजना निर्माण गर्न लागिएको जानकारी दिनुभयो।

‘कसरी काम गर्ने भन्ने विषयमा यथार्थ जानकारी आएपछि मात्रै सबै सम्पदा क्षेत्रको काम अघि बढाउनेछौं।’ –उहाँले भन्नुभयो। सम्पदा विभागले पहिलो चरणको गुरुयोजनामा सम्पदा क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाउने, सार्वजनिक शौचालय निर्माण गर्ने, सो क्षेत्रको उत्खनन र पुरातात्विक अवस्थालगायतका महत्वपूर्ण कामको शुरुआत गर्ने भएको छ।

गुरुयोजना निर्माण गर्न करिब ५० लाख रुपियाँ छुट्याएको जानकारी दिँदै विभागीय प्रमुख थापाले बिनियोजित रकमबाट रकम सो क्षेत्रका सम्पदा पुनर्निर्माण गर्ने योजना रहेको बताउनुभयो।

मेयर शाक्यले महानगरले यो वर्ष ५ र आगामी वर्ष अन्य ऐतिहासिक क्षेत्रको गुरुयोजना निर्माण गरेर थप काम अघि बढाउने बताउनुभयो। महानगर क्षेत्रमा रहेका सम्पूर्ण सम्पदाको संरक्षण गर्ने दायित्व महानगरपालिकाको भएकाले सरोकारवाला निकायको सहयोगमा गुरुयोजना निर्माण गरी काम अघि बढाउन लागिएको उहाँले बताउनुभयो।

भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका सम्पदा पुनर्निर्माण र जिर्णोद्धार गर्ने काम तीब्र रूपमा भइरहेको बताउँदै मेयर शाक्यले भन्नुभयो– ‘अबको केही वर्ष भित्रमा महानगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने सबै सम्पदाको पुनर्निर्माण भइसक्ने र केही क्षेत्रको गुरुयोजनाअनुसार काम अघि बढाउनेछौं।’

कामपाको सहयोगमा भूकम्पले पूर्णरूपमा ध्वस्त भएको काष्ठमण्डपको पुनर्निर्माण शुरु भइसकेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोजनमा धरहरा पुनर्निर्माण शुरु भएको छ। केही दिनपछि रानीपोखरीको पुनर्निर्माण शुरु गर्ने योजना रहेको कामपाले दावी गरेको छ।

कामपाले विश्वसम्पदा क्षेत्रमा पर्ने हनुमानढोका क्षेत्रका केही मन्दिरको पुनर्निर्माण शुरु गरेको छ। हनुमानढोका दरबार क्षेत्र कार्यालयले सो क्षेत्रका सम्पदाहरूको पुनर्निर्माण गरिरहेको छ।