नेकपाभित्र कार्यदलको खोजी 

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीभित्र कार्यदलको खोजी शुरू भएको छ। सांगठानिक एकता प्रक्रिया टुंगो लगाउन कार्यविधि तयारका लागि गठित कार्यदललाई पुस महिनाभित्र नै प्रतिवेदन बुझाउन समयसीमा दिइएको थियो।
पुस महिना बितिसक्दासमेत कार्यदलले सांगठनिक एकता प्रक्रियाको विधिसमेत तयार पार्न सकेको छैन। पार्टी एकीकरण हुँदा ३ महिनाभित्र एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरिएको थियो। तर, पार्टी एकता भएको ९ महिनाको अवधिमा केन्द्रीय समिति र प्रदेश कमिटीबाहेक अन्य सांगठानिक एकता प्रक्रियाले मूर्त रूप पाउन सकेको छैन। एकता प्रक्रिया टुंगो लगाउन सचिवालय बैठकले पटक–पटक कार्यदल गठन गरे पनि शीर्ष नेतृत्वको स्वार्थ नमिल्दा कार्यदलको प्रतिवेदन थन्किँदै आएको छ।
पार्टी एकतालाई पूर्णता दिन स्थायी समिति बैठकबाट गठित ९ सदस्यीय कार्यदलले पनि समयमा नै प्रतिवेदन बुझाउन नसकेपछि पार्टीभित्र कार्यदलको खोजी शुरू भएको हो। नेकपाका एक नेताले भने– ‘कार्यदल गठन भएपछि अब पार्टीको सबै एकता टुंगो लाग्छ कि भन्ने आशा पलाउँछ, जब कार्यदलको प्रतिवेदन कार्यान्वयन नभई पुनः कार्यदल गठन हुन्छ तब निराशा जन्माउँछ।’ लामो समयसम्म पार्टी एकताको प्रक्रिया टुंगो नलाग्दा कार्यकर्तामा निराशा बढ्दै गएको छ।
नेकपाका स्थायी समिति सदस्य मणि थापाले कार्यदलले समयमा नै प्रतिवेदन नबुझाउँदा झन् अन्यौलता सिर्जना भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘कार्यकर्ता छिटो एकता प्रक्रिया टुंगो लगाएर जिम्मेवारी पाउने आशामा बसेका छन्, तर लामो समय बितिसक्दा पनि एकता प्रक्रिया टुंगो नलाग्दा स्वभाविकरूपमा निराशा जन्मिएको छ।’
९ सदस्यीय कार्यदलमा मुख्यमन्त्रीदेखि लिएर मन्त्रीसमेत सहभागी छन्। कार्यदल गठन भएपछि ५ पटक बैठक बसे पनि पनि सांगठानिक एकता प्रक्रियाका लागि कार्यविधिको टुंगो लगाउन सकेको छैन। कार्यदलका सदस्यहरूको कार्यव्यस्तताका कारणले पनि बैठक प्रभावित हुँदै आएको एक सदस्यले बताए। ती सदस्यले भने– ‘कार्यकर्ताको व्यवस्थापन गर्न र जिम्मेवारी बाँडफाँड गर्नका लागि तयार गर्नुपर्ने विधि निर्माणमा ढिलो हुँदै आएको छ। कार्यदलका सदस्यहरूको दौडधुपका कारण समयमा नै बैठकसमेत बस्न सकेको छैन। मन्त्रीहरूको कार्यव्यस्ताका कारणले बोलाइएको बैठकसमेत स्थगित गर्नुपर्ने अवस्था आएको छ।’
पार्टीभित्र विशेष गरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको माग सम्बोधनको विषयलाई लिएर नै असमझदारी कायमै रहेको बताइएको छ। नेता नेपाल पक्षले एकता प्रक्रियामा पार्टी एकताको मर्म र भावनाअनुसार गर्नुपर्ने अडान लिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ थप गृहकार्यमा जुटेका छन्। यसअघि अध्यक्षद्वय मिल्दा पार्टीमा देखापर्ने विवाद समाधान हुने गरेको थियो भने अहिले नेपाल पक्षको पनि माग सम्बोधन गरेर अगाडि बढनुपर्ने भएकाले विवाद लम्बिँदै गएको छ।
अध्यक्षद्वयले पार्टी एकताको क्रममा पेलेर अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता नेपालले सचिवालयको बैठक बहिष्कार गर्ने अवस्था सिर्जना भएपछि पार्टी एकता भएको ७ महिनापश्चात् पार्टीको स्थायी समिति बैठक बोलाइएको थियो।
पार्टी एकता भएको ९ महिना बितिसक्दासमेत केन्द्रीय सदस्यहरूको समेत कार्यविभाजन हुन सकेको छैन। शीर्ष नेतृत्वको बीचमा देखा परेको विवाद समाधान नहुनुमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको कार्यव्यस्तता पनि कारण बन्दै आएको छ।
कार्यदलका सदस्य योगेश भट्टराईले कार्यदलले आधाभन्दा बढी काम सम्पन्न गरिसकेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सफा मन लिएर बस्ने हो भने दुई तीन बैठक बस्दा एकता प्रक्रियाको विधि टुंगो लाग्छ।’ उहाँका अनुसार प्रतिवेदन तयार गर्नका लागि ५ पटक बैठक बसिसकेको छ।
कार्यदलले प्रतिवेदन बुझाउन नसक्ने अवस्था सृजना भएपछि एकता प्रक्रिया विधिको टुंगो लगाउने जिम्मेवारी पुनः सचिवालयलाई दिन सक्ने सम्भावना रहेको बताइएको छ।
– नेपाललाई मनाउने ओली–प्रचण्डको कसरत
– सफा मनले बसे अब टुंगो लाग्छ ः भट्टराई
– कार्यदलमा किचलो, आ–आफ्नै अडान