सिँचाइ सुविधा नहुदा किसान मर्कामा



विनोद सिंह विष्ट, बैतडी
बैतडीमा पन्ध्र हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा परेका छन् ।

सिँचाइ सुविधा नहुँदा अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सिँचाइ सुविधा नभएका कारण यहाँका धेरैजसो किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्ने गरेका छन्् ।

भिरालो जमीनमा ओसिलो पन नहुँदा सबै लगाएको अन्नबाली सुक्ने भन्दै हिउँदे याममा किसानका खेतबारी बाँझै रहने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए । हिउँदको समयमा खडेरी पर्दा किसानहरु जमिन बाँझै छोड्न बाध्य भएका हुन् ।

केहीले व्यक्तिगत रुपमा पाइप खरिद गरी सिँचाइ गरेपनि अधिकांश किसानका खेतबारी सिँचाइविहीन अवस्थामा रहेने गरेका छन् । आकाशे पानीको भरमा खेती गर्दा बीउ नै नउम्रिने र हिउँदे याममा जमीन खाली नै राख्ने गरेका छन् । सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबाली समेत लगाउने गरेकाछन् । जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ ।आकाशे पानीको भरमा लगाउँदा वर्षेनी बीउ नै नउठ्ने भएपछि हिउँदे याममा जमीन खाली राख्ने गरेका हुन् । ।

जिल्लाका सिंचाइ नभएका ठाउँमा खडेरीले प्रभाव पारेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । जिल्लामा २५ हजार ५ सय हेक्टर खेतीयोग्य जमीन भएपनि त्यो मध्ये १० हजार हेक्टरमा मात्रै सिंचाइको सुविधा रहेको छ । खडेरीका कारण उत्पादनमा कमी आएपछि तराईबाट आयात हुने खाद्यान्नमा वृद्धि भएको छ।

खडेरीले खेत बाँझै हुन थालेपछी बिकल्पमा फलफूल खेती गरिन थालिएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाले किसानहरुलाई फलफूलका बिरुवा वितरण गर्न थालेको छ । किसानहरुलाई फलफूलबाट आत्मनिर्भर बनाउने उद्देश्यले फलफूलका बिरुवा वितरण गर्ने कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

प्रति किसान २० बिरुवाका दरले हिउँदे फलफूलका बिरुवा वितरण गर्न थालिएको छ । ओखर, आरुबखडा, आरु लगायतका १० हजार बिरुवा वितरण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

फलफूल खेतीबाट तत्कालै फाइदा लिन नसकिएपनि दीर्घकालिन रुपमा फाइदा हुने भएकाले आफूहरुले निशुल्क रुपमा फलफूलका बिरुवा वितरण गर्न थालेको जनाएको छ । पछिल्लो समयमा खडेरीका कारण किसानहरुले खेतीपाती समेत लगाउन नसकेकाले खडेरीका विकल्पको रुपमा समेत फलफूल बगैंचा हुन सक्ने अध्यक्ष चन्दको भनाई छ ।

यो सिजनमा हिउँदे फलफूलका बिरुवा वितरण गरिरहेको गाउँपालिकाले बर्षातको समयमा बर्खे फलफूलका बिरुवा वितरण गर्ने जनाएको छ । व्यवसायिक रुपमा फलफूल खेती गर्न सके किसानहरु आत्मनिर्भर बन्न सक्ने सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्