स्थानीय तहका कर्मचारी अन्दोलित

0
Shares

बुद्ध नेपाली, सिन्धुली
‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा सिन्धुलीका ९ वटै स्थानीय तहका कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहमा कार्यरत सवै कर्मचारी संघ संगठनले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा सोमवार सांकेतिक विरोध स्वरुप जिल्लाका ९ वटै स्थानीय तहमा कामकाज बन्द गरी कार्यालय परिसरमै धर्नामा बसेका हुन् ।

स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रदा सिन्धुलीका ९ वटै स्थानिय तहका कायालयहरुको दैनिक सेवा प्रभावित भएको छ । कर्मचारी अन्दोलन गर्दै कार्यालय परिसरमै धर्नामा बस्दा स्थानीय तहमा काम लिएर गएका सेवाग्राही खाली हात फर्किन बाध्य भएका छन्।

स्थानिय तह कर्मचारी संघ, नेपाल नगरपालिका कर्मचारी एसोशियसन, नेपाल राष्ट्रिय कर्मचारी संगठन,(स्थानिय तह) र स्थानिय तह कर्मचारी युनियन नेपालले संयुक्त रुपमा जिल्लाका ९ वटै स्थानिय तहमा अन्दोलन गरेको स्थानिय तह कर्मचारी संघका केन्द्रीय सदस्य बिष्ण भण्डारीले बताए । ‘नेपाल सरकारले मंसीर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ मा स्थानिय तहका कर्मचारीहरुको कुनै पनि सेवा सुविधा स्प्रष्ट उल्लेख नगरेका र निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि हामी त्यसको विरोधमा अन्दोलित भएका हौं’सदस्य भण्डारीले भने ।

सिन्धुलीका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, घ्याङलेख, मरिण, हरिहरपुरगढी, सुनकोशी, गोलन्जोर, फिक्कल, तिनपाटन गाउपालिकाका कर्मचारी धर्नामा बस्दा स्थानिय तहको सेवा प्रभावित भएको छ ।

श्रेणीविहीन कर्मचारीहरको स्तर वृद्धि साथै सबै तहको बढुवा लगायत वृति विकास तत्काल लागु गनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारी (अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक) लाई सर्वोच्च अदालतको २०७४ पुस २१ गतेको फैसला आदेशको कार्यान्वयनको व्यवस्था गर्नुपर्ने, सबै दरबन्दीमा कार्यरत कर्मचारीको सेवा निरन्तरताको ग्यारेन्टी गर्नुपर्ने लगाएतका ५ बुदें माग राख्दै आन्दोलित भएको स्थानिय तह कर्मचारी संघका केन्द्रीय सदस्य भण्डारी जनाए ।

आन्दोलनका कार्यक्रम अनुसार पुष ९ गते सम्म कालेपट्टी हातमा बाधेर कलम बन्द गर्ने, कालोपट्टी हातमा बाँधेर दिनभर कलम बन्द गर्ने र १० गते स्थानिय तहका सवै कर्मचारी राष्ट्रिय सभागृहमा भेला भई विरोध सभा गर्ने र माग पुरा नभए सोही दिन थप सशक्त अन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यक्रम केन्द्रले तय गरेको सदस्य भण्डारीको भनाई छ ।