गंगा बराल, काठमाडौं ।
तपाईँसँग नागरिकताको प्रमाणपत्र छ ? यदि छैन भने तपाईँले सरकारले बाँड्न थालेको राष्ट्रिय परिचयपत्र पाउनुहुने छैन । उक्त परिचयपत्र वितरण गर्न सरकारले नागरिकताको प्रमाणपत्र हुनुपर्ने मापदण्ड बनाएकाले यस्तो भएको हो ।
स्मरणीय छ, सरकारले यही मंसिर ३ गते पाँचथर जिल्लाबाट परिचयपत्र बितरण गर्न सुरु गरेको छ । गृहमन्त्री रामबहादुर थापामगरले पाँचथरको फिदिम नगरपालिका–४ की १ सय १ वर्षीय भगवतीदेबी भण्डारीलाई पहिलो परिचयपत्र दिएर सो कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको थियो ।
पहिलोचरणमा पाँचथर र सिंहदरबारका निजामती कर्मचारी, सेना र प्रहरीलाई सो पत्र वितरण गर्न थालिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
विभागका निर्देशकसमेत रहनुभएका जोशीले सिंहदरबारभित्र बिबरण संकलन गर्ने काम भइरहेको बताउँदै भन्नुभयो–‘सबै मन्त्रालयले विवरण पठाएपछि फारम भर्न सुरु गर्छौं ।’
राष्ट्रिय परिचयपत्र गृह मन्त्रालयबाट मात्र बितरण भइरहेको छ । कम्प्युटर अपरेटर ईश्वरा श्रेष्ठका अनुसार गृह र अर्थ मन्त्रालयमा कार्यरत कर्मचारीको परिचयपत्र बितरण सकिन लागेको छ ।
उहाँले सबै मन्त्रालयका कर्मचारीको बिवरण रुजु गरी त्यसलाई व्यवस्थित पारिएको बताउँदै भन्नुभयो–कार्ड लिने–दिने प्रक्रिया झन्झटिलो छैन तर विवरण भर्दा होशियारी अपनाउनुपर्छ ।’
परिचयपत्रको अगाडि भागमा थर, नाम, जन्म, आमा–बुबाको नाम तथा परिचयपत्र नम्बर र परिचयपत्र सदर गरिएको मिति रहने छ । परिचयपत्रको पछाडिको भागमा ठेगाना, नागरिकताको किसिम, श्रीमान् वा श्रीमतीको नाम र प्याकेज डाटा रहेको हुन्छ । अगाडि नेपालको लोगो र राष्ट्रिय झण्डा र पछाडि गैंडाको चिन्ह रहेको छ । परिचयपत्र नम्बर १० अंकको रहेको छ । असार ५ गतेबाट पाँचथरमा अभियान सुरु गरिएको थियो, यहाँ ६० हजारले परिचयपत्र लिइसकेको बिभागको तथ्यांकले जनाएको छ । परिचयपत्र बनिसकेपछि मोबाइलमा म्यासेज पठाएर परिचयपत्र लिन बोलाइने गरेको छ ।
पहिलोचरणमा पाँचथरका १ लाख १० हजार र सिंहदरबारका ७ हजारले परिचयपत्र पाउने छन् । दोस्रोचरणमा १५ र तेस्रोचरणमा २५ र अन्तिममा बाँकी जिल्लामा गरी ५ वर्षभित्र सबै नागरिकलाई परिचयपत्र बितरण गरिसक्ने बिभागको योजना छ । परिचयपत्रबारे जानकारी दिन र यसको महत्व बुझाउन टोलटोलमा जाने बिभागले जनाएको छ ।
परिचयपत्रमा ब्यक्तिको पेशा, धर्म, शैक्षिक योग्यता र अन्य बैयक्तिक बिबरण पनि समावेश गरिएको छ । परिचयपत्रमा ४ अंकको सेक्युरिटी अंक रहेको छ, जुन परिचयपत्रवाहकसँग गोप्य रहने छ । फ्रान्सको आइडेमिया आइडेन्टिीटी एण्ड सेक्युरिटी कम्पनीले परिचयपत्र छाप्ने जिम्मा पाएको थियो । कम्पनीले नै बिभागका कर्मचारीलाई डाटा संकलन र भण्डारणबारे सिकाएको थियो । बिभागका कर्मचारीले अरुलाई सिकाएपछि परिचयपत्र बाँड्न थालिएको हो ।
‘सम्पूर्ण विवरण समावेश गरिने भएकाले यो परिचयपत्रलाई बहुउपयोगी बनाउने लक्ष्य लिएका छौं’ जोशीले भन्नुभयो ‘पछि नागरिकताको सट्टामा यही परिचयपत्र प्रयोग हुनसक्छ तर कसलाई कतिसम्म सूचना र विवरण हेर्न दिने भन्ने टुंगो लागिसकेको छैन ।’
उहाँले अहिले नागरिकता लिएकाले मात्र परिचयपत्र पाउने भए पनि पछि ऐन बनेपछि अरुलाई पनि दिन सकिने बताउनुभयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणका सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक संसदमा पुगिसकेको विभागले जनाएको छ ।
गृह मन्त्रालयअन्तर्गत रहेको यो बिभाग यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको नाममा रहेको थियो । असोज २८ गते बसेको मन्त्रिपपिरषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको पञ्जिकरण बिभागलाई व्यवस्थापन केन्द्रसँग गाभेपछि यसको नाम राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग भएको हो ।
पञ्जिकरण बिभागले गर्दै आएको व्यक्तिगत घटना दर्ता गर्ने र सामाजिक सुरक्षाका कार्यक्रम पनि बिभागले नै गर्ने गरेको छ । पहिले पञ्जिकरणको कार्यालय अझै पनि छँदैछ । बिभागमा मात्र रहेर कार्य सम्पादन गर्न सम्भव नभएकाले पञ्जिकरण कार्यालय पुरानै ठाउँमा रहेको छ ।











प्रतिक्रिया