‘प्रधानमन्त्री नै धर्म परिवर्तन गराउने संस्थाको कार्यक्रममा संलग्न भई पुरस्कार लिनु आपत्तिजनक’

0
Shares

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्ष राष्ट्रको प्रधानमन्त्री नै धर्म परिवर्तन गराउने संस्थाको कार्यक्रममा संलग्न भई पुरस्कार लिनु आपत्तिजनक भएको बताउनु भएको छ । उहाँले राष्ट्रिय पहिचान र नेपालीको सम्मानमा ठेस पुगेको बताउँदै हिन्दु राष्ट्रसहितको राजसंस्थाका लागि फागुनबाट आन्दोलन थालिने बताउनु भयो । थापाले कार्यकर्तालाई आन्दोलनका लागि तयारी रहन निर्देशन दिनुभयो ।

राष्ट्रिय प्रजतान्त्र पार्टीले मंगलबार हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले सरकारको वर्तमान कार्यशैली गलत भएको र यसले देशलाई असफल राष्ट्र बन्नेतर्फ धकेलिरहेको बताउनुभयो । थापाले सरकार अपराध नियन्त्रण, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न असफल भएको दाबी गर्नुभयो । दुई तिहाईको सरकारले शान्ति, समृद्धि र स्थायित्व कायम गर्छ भने आशालाई पूर्णरुपले तुषारापात गरेको बताउनुभयो । सरकारले चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको अपराधीलाई संरक्षण गरेको अध्यक्ष थापाले आरोपसमेत लगाउनुभयो ।

कार्यक्रममा राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौला, जिल्ला उपाध्यक्ष शिवराम थापा, सचिव केदार चौलागाई, १ नम्बर क्षेत्रीय अध्यक्ष राजाराम अर्याल, हेटौँडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, जिल्ला नेतृ इन्दिरा न्यौपाने, गढी अध्यक्ष कृष्ण विडारी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका शुक्र प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका ३ जना ज्येष्ठ कार्यकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा भएको हो ।