२/२ रुपैयाँ घट्यो पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य

0
Shares

काठमाडौं ।  सरकारले पेट्राेलियम पदार्थको मूल्य घटाएको छ।

नेपाल आयल निगमकाे आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्यमा २/२ रुपैयाँ घटाउने निर्णय गरेको हाे।

नयाँ मूल्यअनुसार अब पेट्रोल १ सय १२  र डिजेल तथा मट्टितेल ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ।

हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्य अाज(साेमबार) मध्यरातबाट लागू हुनेछ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य समायाेजन गरिएकाे हाे।

यो समायोजनपश्चात् पनि भारतको रक्सौलभन्दा नेपालको वीरगन्जतर्फको सिमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ३२ पैसा तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँ ७१ पैसाले नेपालतर्फ नै सस्तो कायम हुनेछ।

विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुकाे थियाे। पछिल्लाे एक महिनामा निगमलाई २ अर्बभन्दा बढी घाटासमेत भएकाे जनाइएकाे छ। चालु आर्थिक वर्ष २०७५/०७६ को हालसम्मकाे तथ्यांकअनुसार करिब ३ अर्ब ८४ करोड रुपैयाँ घाटा भएकाे निगमले जनाएकाे छ।

मूल्यमा समायोजन गरेपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८१ पैसा नाफा रहेकाे छ। एलपी ग्यासमा भने प्रतिसिलिन्डर २ सय ८४ रुपैयाँ ८३ पैसा घाटा रहेकाे निगमले जनाएकाे छ।