नेपालकै ठूलो जग्गा विकास आयोजना अलपत्र

0
Shares

नरेन्द्र केसी, दाङ
दश बर्षअघि शुरु भएको दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुर जग्गा विकास आयोजना हाल अलपत्र अवस्थामा छ ।
नगर विकास समितिले उपभोक्ताको जग्गा लिएर ल्याण्ड पुलिङ कार्यक्रममार्फत ६० प्रतिशत जग्गा उपभोक्तालाई फिर्ता गरेको लामो समय बिते पनि बाँकी ४० प्रतिशत जग्गा बिक्री गरेर आउने रकमबाट पर्याप्त पूर्वाधार विकासका काम शुरु हुन सकेको छैन । यो नेपालकै ठूलो जग्गा विकास आयोजना भएको नगर विकासको दाबी छ ।

स्थानीय उपभोक्ताकै करिव १५ करोडको लागतमा २०६५ सालदेखि शुरु आयोजनाले एकदशक बित्नै लाग्दासम्म पनि पूर्णता पाउन सकेको छैन । घोराही उपमहानगरपालिकामा टाढाटाढासम्म कालोपत्रे पुगिसक्दा पनि यो वस्तीमा अझै सडक कच्ची मात्रै छैनन्, नाला पनि पनि नबनाइदा ढल निकासको ठूलो समस्या देखिएको छ ।

एक दशसम्म हिलो र धुलोमै सीमित

गएको बर्षातमा पूरै डुबानमा परेका यी वस्तीका आजभोलि हिउँदमा पनि सडक हिलाम्य छन् । घरघरबाट निस्केको फोहर पानीको ब्यवस्थापन नहुँदा घोराही बजार नजिकै रहेको भए पनि यो वस्ती विकटजस्तो देखिन्छ । त्यसमा अझ कतिपय ठाउँमा सञ्चालन भइरहेका सडक पनि बन्द भएपछि उपभोक्ता घुमाउरो बाटो हिड्न बाध्य छन् ।

घोराही–लमही सडक खण्डको नजिकै रहेको उक्त क्षेत्रमा अझै कालोपत्रे सडक पुग्न सकेको छैन । आयोजना निर्माण भइरहेको ढिलासुस्तीका कारण नवलपुरवासी कच्ची सडकको धुलो र हिलो खेप्न बाध्य भइरहेका छन । आयोजनाले जग्गा एकिकरणका लागि ९२ बिगाह जमिन स्वीकृत गरेको थियो । आयोजना जग्गा एकिकरण काम थालेको एक दशक पुग्नै लाग्दासम्म पनि एकिकरणको काम अलपत्र परेको छ ।

जग्गा एकिकरण उपभोक्ता समितिका उपाध्यक्ष विष्णु पुनले आयोजना निर्माणको ढिलासुस्तीका कारण उपभोक्ताले विकासको अनुभूती गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उपभोक्ताले आयोजनालाई दिनुपर्ने ४० प्रतिशत जग्गा दिइसकेको छौं तर नगर विकास समितिले उपभोक्ताकै लगानी उपभोक्तालाई दिन सकेको छैन ।’

उपभोक्ताको १४ करोड ३८ लाखको लागतमा ०६५ सालदेखि थालनी भएको अम्बापुर एकिकृत विकास कार्यक्रमका लागि हालसम्म आठ÷दश करोडको काम भइसक्दासम्म पनि देखिने विकासको काम अझै हुन नसकेका नगर विकास समितिका तत्कालीन अध्यक्ष नारदमणि पोख्रेलले बताउनुभयो । यो आयोजनाका मुख्य योजनाकार तथा पहलकर्तासमेत रहेका पोख्रेलले भन्नुभयो– ‘जुन परिकल्पनाका साथ अम्बापुर जग्गा विकास थालनी गरिएको हो ।

अम्बापुर जग्गा विकास आयोजनाको निर्माण कार्य तिव्रता पाउन नसकेको नगर विकास समितिका अध्यक्ष बसन्त चौधरीले स्वीकार गर्नुभयो । विगतका दिनमा निर्माण कार्यले तिव्रता पाउन नसक्दा आयोजना निर्माण गतिलिन नसकेका उहाँको भनाई छ । आयोजना सम्पन्न गर्न नगर विकास समिति लागि परे पनि प्राविधिक समस्या, उपभोक्ताको असहयोग लगायतका कारणले अलपत्र बनिरहेको उहाँको भनाइ छ ।

अम्बापुर जग्गा एकिकरण आयोजनाले केही वर्ष अघि खोलेको सडक ट्रयाक हाल बन्द भएको छ । नवलपुरको पिपलबोट चोकदेखि गोरखा बोर्डिङ जोड्ने सडक एक बर्षदेखि बन्द छ । नीजि जग्गामा आयोजनाले सडक निर्माण गरेका लागि जग्गाधनिले तारबार लगाइ आफ्नो जग्गा संरक्षण गरेपछि सडक बन्द भएको हो ।