मेलम्ची कहिले आउँछ ? रजतजयन्तीपछि !

0
Shares

सुरेश तामाङ, काठमाडौं ।
मेलम्चीको खानेपानी आउने मिति पटक–पटक फेरिएपछि सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

आइतबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरूले मेलम्चीको पानी आउने मिति सारेर उपत्यकाबासीलाई गुमराहमा पारिएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था, नेपालगञ्ज र बुटवलका खानेपानी आयोजनामा देखिएका अनियमितता, ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिमार्फत सञ्चालित खानेपानी तथा सरसफाई आयोजनाहरुको स्थितिबारे छलफल आइतबार समितिको बैठक डाकिएको थियो ।

बैठकमा खानेपानी मन्त्री बिना मगर अनुपस्थित हुनुहुन्थ्यो । उहाँको सट्टा मन्त्रालयका सचिब गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यनाथ कँडेल र खानेपानी संस्थानका महाप्रबन्धक पर्मेश्वर पोखरेल उपस्थित हुनुभएको थियो । तर उहाँहरूले बैठकमा दिएको जवाफमा सांसदहरूले चित्त बुझाएनन् । चित्त नबुझेपछि उनीहरुले चर्काे आलोचना गर्दै भनेका थिए–सरकारप्रमुख र मन्त्री फेरिएझैँ मेलम्ची आउने मिति फेरिन्छ, साँच्चै आउने मिति कहिले हो ?

सांसद् गणेश पहाडीले सोध्नुभयो–‘पटक–पटक मेलम्ची आउँछ भन्नुभयो । तर आएन । कहिले आउँछ ? भन्नु प¥यो ।’

सांसद राजेन्द्र राईले खानेपानी जस्तो गम्भिर विषयको छलफलमा मन्त्री अनुपस्थित हुनुको कारण खोज्दै भन्नुभयो–‘गम्भिर छलफल भैरहेको छ । मन्त्री खै ? सभापतिज्यु मन्त्रीज्यु विमारी हुनुभो भन्नुहुन्छ । सचिवज्यु आउँदै हुनुहुन्छ भन्नुहुन्छ । कुरा बाझियो नि । खास कुरा के हो ?’

समितिकी सभापति कल्याणीकुमारी खड्काले मन्त्रीज्युलाई बैठकको जानकारी भएको तर विहान एक्कासी अस्वस्थ भएको खबर पाएको बताउनुभयो । सचिब ठाकुरले मन्त्रीको मनसाय बैठकमा नआउने नरहेको दावी गर्नुभयो ।

सभापति खड्काले मेलम्ची आउने समय सर्दै जाँदा आशंका जन्माएको बताउँदै थप्नुभयो–‘कामको ब्रिफिङ सुनियो । काम अझै बाँकी रहेछ । समस्या पनि देखाउनुभयो । यस्तो तालले मेलम्चीले रजतजयन्ती नमनाउला भन्न सकिँदैन ।’

सांसद इन्दु शर्माले पनि मेलम्ची एकादेशको कथाजस्तो भएको प्रतिक्रिया दिनुभयो । पूर्व प्रधानमन्त्री झलनाथ खनालले मन्त्री नआउँदा बैठक खल्लो भएको धारणा राख्नुभयो ।

सचिब ठाकुरले अब एकपटक विश्वास गर्न आग्रह गर्दै ६० दिनभित्र आयोजनाको भौतिक काम सकिने दावी गर्नुभयो ।

बुटवल र नेपालगञ्ज खानेपानी आयोजनामा भएको अनियमितताको विषयमा मन्त्रालयले सोच लिएको जानकारी दिँदै उहाँले भन्नुभयो–‘त्यहाँ भ्रष्टाचारै भएको होइन, अनुचित कार्य भएको हो । यस्तो कार्य गर्नेलाई विभागीय कारबाही हुन्छ । कारबाहीपछि समितिमा भनूँला ।’

यसैबीच समितिले काम छिटो सकी विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पानी उपलब्ध गर्न÷गराउन, विभिन्न अनियमितताबारे बुझ्न गठित छानबिन समितिको प्रतिवेदन छिटो बुझाउन, ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिमार्फत सञ्चालित खानेपानी तथा सरसफाई आयोजना (फण्डवोर्ड) बारे तत्काल निर्णय गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै समितिले मेलम्ची खानेपानी आयोजनाको विद्यमान अवस्था बुझ्न स्थलगत भ्रमण गर्ने निर्णय गरेको बताइएको छ ।