यातायात विभागको सर्बर ह्याङ

0
Shares

मधुसूदन राजमाझी, काठमाडौं ।
यातायात व्यवस्था विभागको सर्बर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुल्ला गरेकै दिन सर्बरले धान्न नसक्दा यस्तो अवस्था आएको हो ।

चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गतेदेखि खुलेकै दिन बन्द भएको थियो । यस्तो समस्या आएपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको छ । वेबसाइट नै ह्याङ भएपछि अनलाइन फर्म भर्न चाहने नयाँ सेवाग्राही पनि अन्यौलमा परेका छन् ।

विभागले देशभरका यातायात कार्यालयमार्फत सो सेवा दिँदै आएको थियो ।
दैनिक लाइसेन्सको माग बढ्ने र ट्रायल–रिट्रायल) दिनेहरूको संख्या थपिने भएपछि यसअघि विभागले दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर अनलाइन आवेदन सेवा बन्द गरेको थियो । पहिलोपटक ट्रायल दिनेहरूमध्ये ४० प्रतिशत मात्र उत्तीर्ण हुने गरेको बताउँदै विभागले ६० प्रतिशतले तीनपटकसम्म रिट्रायल दिने व्यवस्था भएकाले संख्या थपिदै गएको जनाएको छ ।

सिंहदरबारमा सार्दा समस्या
अनलाइन आवेदन भर्न सास्ती
छापिएन भनेजति स्मार्ट लाइसेन्स

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने उक्त समस्या समाधानार्थ प्राविधिहरूले काम गरिरहेको दावी गर्नुभयो । ‘एकैपटक धेरै सेवाग्राहीले वेवभसाइट खोल्दा सर्बरले धान्न नसकेको हो, एक÷दुई दिनमै सहज हुन्छ ।’–उहाँले तर्क गर्नुभयो ।

यसअघि यस्तो समस्या नआएको बताउदै प्रवक्ता उपाध्यायले समाधानको लागि काम भइरहेको बताउनुभयो ।

यसैबीच विभागको वेबसाइट सिंहदरबारस्थित सरकारी डेटा सेन्टरमा सारिनु पनि अहिले समस्या आउनाको एक कारण हो ।

यसैबीच विभागले ४५ दिनभित्र बाँकी ६ लाख स्मार्ट लाइसेन्स छाप्ने योजना अगाडि सारेको थियो । विभागको मेसिनले मात्र स्मार्ट लाइसेन्स प्रिन्ट गर्दा समयमा वितरण गर्न गाह्रो भएपछि मन्त्रीपरिषद्को निर्णयमार्फत निजी क्षेत्रलाई प्रिन्ट गर्ने जिम्मेवारी दिइएको थियो ।

निजी क्षेत्रले वीसवटा प्रिन्टर राखेर विभागभित्र नै छपाइको काम सुरु गरेपछि अपेक्षाकृत रुपमा छाप्न नसकेको विभागले बताएको छ । मालिका इन कर्पोरेटले सम्झौता भएको ४५ दिनमा करिब एक लाख मात्र लाइसेन्स छापेको छ । ट्रायल पास गरेको एक बर्ष वितिसक्दा सम्म सवारी चालकहरुले यातायात कार्यालयले प्रदान गरेको रसिदकै भरमा सवारी सञ्चालन गरिरहेका छन् ।

विभागका महानिर्देशक लावण्यकुमार ढकालले तीन महिनापछि ट्रायल पास गरेको दुई साताभित्र नै लाइसेन्स पाउने बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो,‘बाँकी रहेको स्मार्ट लाइसेन्स धमाधम छाप्ने काम भइरहेको छ, विभागले पनि मेसिन खरिद गर्ने काम अगाडि बढाएको छ, छिटो भन्दा छिटो समाधान निकाल्छौँ ।’