रामकृष्ण चापागाईँ, काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारद्वारा यही मङ्सीर ११ गते सार्वजनिक गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई सुखद् र सकारात्मक भनी प्रतिक्रिया दिएको छ । तर उक्त दलले कार्यक्रमको शुभारम्भमा गरिएको प्रचारशैलीको भने विरोध गरेको छ ।
आइतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– सरकारले गरेको प्रचार शैली अनावश्यक र भड्कीलो छ ।
उहाँले उक्त कार्यक्रमको सफल कार्यान्वयनबाट समस्त नेपाली श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आफ्नो पार्टीले लिएको स्पष्ट पार्नुभयो ।
प्रवक्ता शर्माका अनुसार काग्रेस सभापति शेरवहादुर देउवाको नेतृत्वको सरकारको पालामा ०७४ साउन ९ गते संसदमा प्रस्तुत भई संसदबाट पारित भएपछि साउन २९ गते राष्ट्रपतिबाट प्रमाणित भएको उक्त ऐनलाई आफँैले ल्याएको झैँ भ्रम छरी प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर सजाएर गरिएको प्रचारप्रति काग्रेसले आपत्ति जनाएको हो ।
उक्त पार्टीले पूर्ववर्ती देउवा सरकारले स्पाइनल इन्जुरी भएर ह्वील चेयरमा बसेका, किड्नी, क्यान्सर र मुटु रोगका अशक्त विरामीलाई मासिक ५ हजार जिविकोपार्जन भत्ता दिन गरेको निर्णय खारेज भएको आपत्ति जनाएको छ ।
प्रवक्ता शर्माले नेपाल ट्रेड युनियन कांग्रेसले ०४८ सालदेखि सामाजिक सुरक्षा कोषको नारा उठाउँदै आएको स्मरण गर्दै गत साउन ३१ गते ३ वटा ठूला ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलनमार्फत् उक्त कोष स्थापनार्थ सरकारलाई दवाब दिएको दावी गर्नुभयो ।
यस्तै कांग्रेसले विजुलीका पोलपोलमा प्रधानमन्त्रीको सजाउन हुने तर पीडित निर्मला पन्तको तस्वीर टाँसदा गिरफ्तार हुनुपर्ने भन्दै विरोध गरेको छ ।
यसैबीच काँग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले खास धार्मिक आस्थामा आधारित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत संलग्न भएकोमा विरोध जनाएको छ ।











प्रतिक्रिया