पञ्चासे केवलकार गण्डकी प्रदेशको “ड्रिम प्रोजेक्ट”



नेपाल समाचारपत्र
पर्वत
पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकार, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ।

पोखरा महानगरपालिका–३३ घाँटीछिनादेखि पर्वतको कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्म केबलकार सहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको हो। पञ्चासे केबलकार एन्ड टुर्सले केवलकार निर्माणका लागि बिस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने काम अन्तिम चरणमा पु¥याएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो। ‘डीपीआर बनाउने काम अन्तिम चरणमा पुगेको छ,’ उहाँले भन्नुभयो–‘वातावरणीय प्रभाव मूल्यांकनको काम पनि संँगसंँगै अघि बढाइएको छ ’।

शर्माले केबलकार गण्डकी प्रदेशको ड्रिम प्रोजेक्ट भएको बताउनुभयो। ‘पोखरा तथा आसपासको पर्यटन प्रवद्र्धन तथा धार्मिक गन्तव्यको विकासमा यो प्रोजेक्टले विशेष योगदान पु¥याउनेछ,’ उहाँले भन्नुभयो।

केबलकार १० अर्ब रुपियाँ लागतमा केबलकार निर्माण शुरू भएको उहाँले बताउनुभयो। २०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरू गर्ने योजना छ। ‘शुरू भएको ५ वर्षमा निर्माण सम्पन्न हुनेछ,’ उहाँले भन्नुभयो। साढे आठ किलोमिटर दूरीको मोनोकेबल डिटाचेवल प्यासेञ्जर केबलकार निर्माण गरिने लक्ष्य छ। पञ्चासे क्षेत्रको प्राकृतिक स्वरुपलाई यथास्थानमा राखेर, पर्यटन पूर्वाधार निर्माण गर्न नगरपालिका र गाउँपालिका एवम् सरकारसँग करिब ३ हजार रोपनी जग्गा भाडामा लिने गरी प्रक्रिया अगाडि बढिरहेको कम्पनीले जनाएको छ।

केबलकार मात्र निर्माणका लागि ३ अर्ब रुपियाँ लगानी लागे पनि ७ अर्ब रुपियाँ रिसोर्ट, पार्कलगायत पर्यटन पूर्वाधारमा खर्च गरिने उहाँले जानकारी दिनुभयो। पञ्चासे तालदेखि चित्रे गाउँसम्म जिप फ्लायर, पञ्चासेदेखि आर्थरसम्म साइकल लेन, पञ्चासे घुम्ने ट्रेकिङ रुट, बाल उद्यान एवम् फन पार्क, श्रवणकुमार आश्रम, हस्तकला बिक्री केन्द्र एवम् हेरिटेज प्लाजासहित होटल, रिसोर्ट, अल्कोहल जोन तथा होम स्टे तयार गरिने परियोजनाको लक्ष्य छ।परियोजनाका लागि चुक्ता पुँजी ४ अर्ब २५ करोड रुपियाँ पु¥याउने शर्माले जानकारी दिए।

पँुजीको व्यवस्थापनमा प्रवद्र्धक शेयर ३ अर्ब रुपियाँ रहनेछ। बाँकी रकम स्वदेशी एवम् विदेशी वित्तीय संस्थामार्फत् सफ्ट लोन लिएर पूरा गर्ने गरी कम्पनीले गृहकार्य गरिसकेको शर्माले बताउनुभयो। परियोजना सम्पन्न भई सञ्चालनमा आइसकेपछि पर्यटन र अन्य विकास योगदान पुग्ने फाइनान्स डाइरेक्टर धनप्रसाद उपाध्यायले बताउनुभयो। परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजार जनाले रोजगारी सिर्जना हुने अनुमान छ। सोही समूहले तनहुँको बन्दीपुरमा पनि केबलकार निर्माण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्