ईश्वरराज ढकाल, काठमाडौं
नारायणहिटी संग्रहालयमा ३१ वटा मात्रै कक्ष रहेको जानकारी प्राप्त भएको छ। संग्रहालय प्रशासनले तयार गरेको संग्रहालय परिचय (ब्रोसर)मा ५२ कक्ष रहेको उल्लेख गरिए पनि सबै कक्ष अवलोकन गर्दा ३१ वटा मात्र फेला परेको हो।
यसैबीच संग्रहालय प्रशासनले शुक्रबार सबै कक्ष खुला गरेको छ। पुस्तकालय र थिएटरबाहेक सबै कक्ष खुला गरिएको पुरातव विभागका महानिर्देशक भेषनारायण दाहालले पुष्टि गर्दै नारायणहिटी संग्रहालयमा खुला गर्ने कुनै कक्ष बाँकी नरहेको जानकारी दिनुभयो।
शुक्रबार सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, कपिलवस्तु, चितवन र पर्सा र पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्रको अंगरक्षकको कक्ष खुला गरिएको छ। २०६५ साल फागुन १५ गतेदेखि १९, २०७५ साल कात्तिक २९ गते सुर्खेत र रूपन्देही गरी २१ तथा शुक्रबार १० गरी जम्मा ३१ कक्ष खुला भएको हो। यसअघि कास्की, तनहँ, रुकुम, रोल्पा, बैतडी, दैलेख, अछाम, जुम्ला, डोल्पा, गोरखा, लमजुङ, घनुषा, गुल्मी, धनकुटा, पर्वत, रोल्पा, कैलाली, बर्दिया कक्ष खुला गरिसकिएको छ।
नारायणहिटीका १० वटा कक्ष खुला गर्न पर्यटनमन्त्री रवीन्द्र अधिकारी नारायणहिटी संग्रहालय पुग्नुभएको थियो। त्यसक्रममा उहाँले भन्नुभयो– ‘नारायणहिटी दरबार रहस्यमय थियो भनिन्थ्यो, अब त्यो रहेन। आजबाट सबै कक्ष खुला भएका छन्। अब नेपाली जनताले नारायणहिटी संग्रहालयबारे पूर्णरूपमा जानकारी लिनुहुनेछ।’ उहाँले नारायणहिटीमा ३१ वटा मात्र कक्ष रहेको तथ्यांक प्रचार गर्न कर्मचारीलाई निर्देशन दिनुभयो।
संग्रहालय प्रमुख अद्वैतप्रकाश श्रेष्ठले संग्रहालयको पुस्तकालय र हलबाहेक सबै कक्ष खुला भइसकेको स्वीकार्नुभयो। उहाँले १८ हजार पुुस्तकको संग्रह रहेको पुस्तकालय र राजपरिवारले फिल्म हेर्न प्रयोग गर्ने गरेको थिएटर चाँडै नै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। अवलोकन गर्ने क्रममा मन्त्री अधिकारीले नारायणहिटी संग्रहालयलाई थप व्यवस्थित बनाउन चाँडै गुरुयोजना सार्वजनिक गरिने बताउनुभयो।
महानिर्देशक दाहालले पनि नारायणहिटीलाई नमुना संग्रहालयका रूपमा विकास गर्न गुरुयोजना निर्माण भइरहेको बताउँदै भन्नुभयो– ‘गुरुयोजना अन्तिम चरणमा पुगेको छ, केही दिनपछि सार्वजनिक गरेर सोहीअनुसार नयाँ कार्यक्रम अघि बढाउनेछौं।’ संग्रहालयका पूर्व प्रमुख रोहित ढुंगानाले भने पूर्वमुमा बडामहारानी रत्न बस्ने घरसमेत संग्रहालयको मातहतमा रहने भएकाले संग्रहालय प्रशासनले उक्त घर पनि खोल्ने तयारी गरेको बताउनुभयो।
७ सय ५३ रोपनी क्षेत्रफलमा फैलिएको नारायणहिटी संग्रहालय भने ३ सय १८ रोपनी क्षेत्रफलमा मात्रै सीमित छ। राजा पृथ्वी वीर विक्रम शाहको शासन कालमा तत्कालीन राणा प्रधानमन्त्री रणोद्वीप शाहको कार्यकालमा निर्माण भएको नारायणहिटी दरबार विसं १९९० सालमा भूकम्पले क्षतिग्रस्त भएको थियो।
पछि तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरको कार्यकालमा हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो। विसं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निर्माण भएको थियो। तत्कालीन राजा महेन्द्रको शासनकालमा नारायणहिटी दरबार पुनर्निर्माण गरिएको थियो। राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्य जन्मेको सो भवनमा रहेका सबै कक्ष खुला गर्न अझै केही वर्ष लाग्ने संग्रहालय प्रशासनले जनाएको छ।











प्रतिक्रिया