८८ किलो सुन केरूङ नाकाबाट भित्र्याउने मुख्य अभियुक्तहरूलाई कैद

0
Shares

काठमाडौं । तस्करीको ८८ किलो सुन केरूङ नाकाबाट भित्र्याउने मुख्य अभियुक्तहरू प्यान विमिङ र याङ विविङलाई काठमाडौं जिल्ला अदालतले ४३ करोड ५६ हजार जरिवाना र पाँच वर्ष कैद हुने फैसला सुनाएको छ। उनीहरू चिनियाँ नागरिक हुन्।

उक्त सुन सहित गतवर्षको भदौमा क्षेत्रपाटीबाट पक्राउ परेका मनोज अधिकारीलाई भने ४३ करोड ५६ हजार जरिवाना र तीन वर्ष जेल सजाय सुनाएको छ।

काडमाडौं जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले मंगलबार ८८ किलो सुन काण्डका अन्य १० अभियुक्तलाई सफाइ दिएको हो ।

मुख्य अभियुक्तहरू चिनियाँ नागरिक विमिङ र विविङलाई भन्सार ऐन अनुसार विगो बमोजिम जरिवाना र पाँच वर्ष कैद सजाय भएको जिल्ला अदालतले जनाएको छ। उनीहरू दुवै अहिले फरार छन्।

सुन बोक्ने भरिया तथा गाडी चालक अधिकारीलाई भने अदालतले मतियार ठहर गरेको छ। त्यसैले उनलाई विगो बमोजिम जरिवाना सुनाएपनि कैद भने ३ वर्ष तोकेको छ।

सफाई पाउनेहरू मानबहादुर तामाङ, साङ्बो लामा तामाङ, सुन व्यापारीहरू शुभरत्न शाक्य, सत्यनारायण अग्रवाल, गणेशदत्त बडू, दीनखर सालुखे, नन्दकुमार मर्गले र चिनियाँ नागरिक जाङ हालिङ छन्।