काठमाडौ विश्वविद्यालयको २४ औ दीक्षान्त समारोहः ‘ज्ञान, सिप र प्रविधि प्रयोग गर्नुस’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काठमाडौ विश्वविद्यालयको २४ औ दीक्षान्त समारोहको पहिलो चरण अन्र्तगत मेडिकल तर्फको दिक्षान्त समारोह इसिमोडका महानिर्देशक डा. डेभिड जेम्स मोल्डनको दीक्षान्त भाषणका साथ सम्पन्न भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा काठमाडौ विश्वविद्यालयका सह कुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा सम्पन्न दीक्षान्त समारोहमा डिएम÷एमसिएच तहका ५, एमडी/एमएस/एमडिएस/एमएससी/एमसिएचमा १ सय ९३, एमविविएस तर्फ ९ सय ६९, विडिएस तर्फ १ सय ६६, विएस्सी नर्सिङ्ग तर्फ १ सय ८२, विएनएस तर्फ १८ र विपिटी तर्फ २२ जना गरी १ हजार एक सय ५५ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

दीक्षित हुनेहरुमा ६ सय ४७ जना महिला र ९ सय ८ जना पुरुष छन् । भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका र बेलायत गरी ५ देशका १ सय ६१ जना विद्यार्थीहरु पनि सोहि अवसरमा दीक्षित भए ।

दीक्षित विद्यार्थीहरु मध्ये ८१ दशमलब ५७ प्रतिशत अङ्क ल्याई एमविविएस तहमा उत्कृष्ट हुने नेपाल मेडिकल कलेजकी छात्रा सुश्री मनलाी भट्टलाई भाईस–चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो । दीक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथी इसिमोडका महानिर्देशक डा. डेभिड जेम्स मोल्डनले नेपालको विकास र सम्वृद्धीका लागि नेपालीहरु सक्षम रहेको, नेपालको हावापानी, प्राकृतिक सुन्दरता र वातावरण राम्रो भएकाले नेपालीहरुको भविश्य उज्जवल रहेको बताए । एकता र मेहनतले सफलता प्राप्त हुने भएकाले ज्ञान, सिप र प्रविधिलाई आत्मसाथ गर्दै नेपालीहरु अगाडी बढ्न उनले सुझाब दिए ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरलेलले विपन्न नागरिकहरुको सेवामा लाग्न शिक्षा र स्वास्थ्य महत्वपूर्ण भएको बताए । दीक्षित विद्यार्थीहरुले रोगसँग लड्ने क्षमता बोकी स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउनु पर्ने बताए । सरकारले शिक्षा र स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा पु¥याउन आवश्यक गृहकार्य गरिरहेको बताए ।

कार्यक्रममा उपकुलपति प्रोफेसर डा. रामकण्ठ माकजुले स्वास्थ्य सेवालाई समतामुलक सेवाका रुपमा विकसित गर्न, स्वास्थ्य सेवाका उत्कृष्ट केन्द्रहरु स्थापना गर्न, स्वस्थ्य सेवामा सुुधार गर्न नबीन पद्दतीहरुको विकास गर्ने मुख्य लक्ष्य रहेको बताए ।

काठमाडौ विश्वविद्यालयले सरकारका सबै निकाय, स्थानीय समुदाय, नीजि क्षेत्र र देश विदेशका प्राज्ञिक संस्थाहरुसँग साझेदारी गरी नमुना प्रस्तुत गरेको उपकुलपति माकजुले बताए । कहिल्यै नगरेको काम गर्न साहस र आत्मविश्वास भएकाले विश्वविद्यालय आफैमा सक्षम हुँदै गएको उनले बताए । बीस बर्षको अवधीमा काठमाडौ विश्वविद्यालयले देशको स्वास्थ्य क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याएको उपकुलपति प्रो.डा. रामकण्ठ माकजुले बताए ।

दीक्षान्त समारोहमा रजिस्ट्रार प्रोफेसर डा सुबोध शर्मा, डिन प्रोफेसर डा. राजेन्द्र कोँजु लगायतले दीक्षित विद्यार्थीहरुलाई प्राप्त ज्ञान र सिपलाई ब्यवहारमा उतार्न सुझाब दिए । विश्वविद्यालयबाट १३ हजार ७ सय ९१ जना विद्यार्थीहरु दीक्षित भएका छन् । सन् २०१७ सम्ममा एमविविएस तर्फ १० हजार ५१, विडिएस तर्फ ४ सय ३८, विएस्सी नर्सिङ्ग तर्फ १ हजार ४ सय १३ तथा मेडिकल साईसेन्ज स्नातकोत्तर तहका १ हजार ८ सय २३ जना विद्यार्थीहरु दीक्षित भएका छन् । चिकित्सक सेवा, चिकित्सा शिक्षा, चिकित्सा अनुसन्धान एवं विकास तथा ब्यवस्थापनमा दक्ष मानिदै आएका छन् । विश्वविद्यालयले एमविविएस कार्यक्रममा ९ सय भन्दा धेरै विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको छ ।

दोश्रो चरणको कार्यक्रम २०७५ मसिंर २८ गते हुने भएको छ । उत्त कार्यक्रममा साईन्स, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, एजुकेसन, आर्टस र ल विषयका विद्यार्थीहरु दीक्षित हुनेछन् । उत्त कार्यक्रममा चिनियाँ बैज्ञानीक तथा सन यात सेन विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. लुआ जुनले दीषन्त भाषण गर्नेछन् ।