गाँजा प्रभावित क्षेत्रमा प्रहरी चौकी

0
Shares

हेटौंडा,(नेस) ।
मकवानपुरको गाँजा प्रभावित क्षेत्रमा प्रहरी चौकी स्थापना भएको छ । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुरमा बिहीबार अस्थायी प्रहरी चौकी स्थापना भएको हो । राक्सिराङ गाउँपालिकामा यसअघि खैराङमा प्रहरी चौकी स्थापना गरिसकिएको छ ।

चौकीको प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङले उ्दघाटन गर्नुभयो । चौकी उद्घाटन गर्दै चेपाङले प्रहरी चौकी स्थापनासँगै सरकारको उपस्थितिको अनुभूति भएको बताउनुभयो ।
मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले जनताको माग पूरा गरी प्रहरी चौकी स्थापना गर्न पाएकोमा खुशी लागेको बताउँदा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अस्थायी प्रहरी चौकी स्थापनासँगै बैंक र बित्तीय संस्थाहरु स्थापना गर्न सजिलो हुने बताउनुभयो ।

गाँजा प्रभावित क्षेत्रका रुपमा रहेको गाउँपालिकामा अपराध न्यूनीकरणमा प्रहरी चौकी स्थापनापछि सघाउ पुग्ने र आर्थिक क्रियाकलाप निर्धक्कसाथ अघि बढ्ने गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । प्रहरी चौकी स्थापनापछि अब बैंकले समेत शाखा खोल्ने आशा गाउँपालिकाले गरेको अध्यक्ष मल्लले बताउनुभयो ।

चैनपुरमा असई वीरबहादुर यादबको संयोजकत्वमा सात जना प्रहरी रहने गरी अस्थायी प्रहरी चौकीको स्थापना गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ्ग, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नेपाल चेपांङ संघ अध्यक्ष खेम चेपाङलगायतको उपस्थिति थियो ।