प्रदेश सरकार सफल हुन्छः मुख्यमन्त्री

0
Shares

हेटौंडा,(नेस) ।
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्बृद्ध नेपाल, सुखी नेपालीको अभियानमा प्रदेश सरकार सफल भएर छाड्ने बताउनुभएको छ । सरकार गठन भएको ८ महिना अवधिमा धेरै सकारात्मक कार्य प्रारम्भ भएको बताउँदै उहाँले अब सरकारको काम देखिने समय आएको धारणा राख्नुभयो ।

प्रदेश तहमा आर्थिक विकासको रणनीतिका विषयमा कार्यशाला उद्घाटन गर्दै उहाँले गन्तव्यबिना आर्थिक विकास नहुने प्रष्ट पार्नुभयो । दैनिक कार्यलाई आर्थिक विकास र उत्पादनसँग जोडिए सम्बृद्धिको बाटो भेट्टाउन धेरै समय नलाग्ने उहाँको धारणा थियो ।

संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकार पनि हिँडेर जनताका सपना साकार बनाउने अभियानमा रहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री पौडेलले कर्मचारी अभाव भएर केही समस्या देखापरेको बताउनुभयो ।

संघीय सरकारले हालसम्म पनि न्यूनतम कर्मचारी नपठाउँदा प्रदेश र स्थानीय तहको काम प्रभावित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–प्राविधिक कर्मचारीको झन् धेरै अभाव छ ।
केही समयपछि प्रदेश सरकारले कामको गति लिने भन्दै उहाँले प्रदेश सरकारको ८ महिना अवधिमा के काम ग¥यो भनेर नागरिकले सोधिरहेको बताउनुभयो ।

उहाँले काम गर्ने शैली र मानसिकतामा परिवर्तन गर्नुपर्ने बेला आएको धारणा राख्नुभयो । अब कामका लागि काम भन्दा पनि नागरिकले अनुभूति गर्ने परिणाममुखी काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।

प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश नम्बर ३ प्राकृतिक स्रोत र साधनको धनी रहेकोले यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो । विकासको मोडल परिवर्तन गरेर नागरिकले अनुभूति हुने गरी विकास गर्न सरकार लागेको उहाँको भनाई थियो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख सचिव आनन्दराज ढकाल, मन्त्रालयका सचिवहरु, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो ।