जाडो बढेपछि मुस्ताङी विद्यालय बसाइँ सरे


दुर्गाप्रसाद शर्मा, मुस्ताङ
मुस्ताङको उत्तरी कोरला नाकासँग जोडिएको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित अधिकांश विद्यालय हिउँदको चिसो छल्न बेंसी झरेका छन् ।

बर्सेनी हिउँदमा उपल्लो मुस्ताङका सामूदायिक, निजी र गुम्बा विद्यालयले पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गर्दै आइरहेका छन् । यस वर्ष पनि साविकका घुम्ती विद्यालयले आफ्ना विद्यार्थीलाई आइतबार पोखरातर्फ झारेका हुन् । यसरी घुम्ती कक्षाका लागि बेंसी झर्ने विद्यालयलले चालू शैक्षिक सत्रको परीक्षा सकेर नयाँ कक्षाको पढाइ सुरु गर्नेछन् ।

सीमावर्ती नाकासँग जोडिएको एक मात्र दिव्यदीप मावि छोसेरसहित लोमान्थाङ गाउँपालिकामा रहेका १० आधारभूत सामुदायिक विद्यालयहरु बेंसी झरेका हुन् । त्यस्तै, सोही गाउँपालिका रहेको पालनाम्ग्याल गुम्बा विद्यालय, मञ्जुश्री गर्फु गुम्बा विद्यालय, निफुक नाम्डोल नर्बुलिङ गुम्बा विद्यालय र महाकरुणा शाक्यापा गुम्बा विद्यालय तथा लोमान्थाङ बजारमा सञ्चालित दुई निजी विद्यालय आमजी र ग्रेड कम्पासन विद्यालय पनि २ साताअघि नै घुम्ती कक्षाको पढाइका लागि पोखरा झरेको स्रोत व्यक्ति गोविन्द श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उपल्लो मुस्ताङसँग जोडिएको अर्को लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ८ सामुदायिक आधारभूत विद्यालयमध्ये ६ वटा विद्यालय पनि आइतबारै घुम्ती कक्षाका लागि पोखरा झरेका हुन् । यस वर्षदेखि घमी आधारभूत विद्यालय र जनज्योति आधारभूत विद्यालय घिलिङले पनि घुम्ती कक्षाका लागि पूर्वतयारी गरेका छन् । त्यस्तै, लोघेकरमा रहेको चराङ धार्के्लिङ सेन्तुप गुम्बा विद्यालय र चराङ लोक्छ्यो गुम्बा विद्यालय पनि घुम्तीका लागि पोखरा झरेको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

मध्यमुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका–२ विद्यालय जननर्मल आधारभूत विद्यालय छुसाङ र मुक्तिनमुना आधारभूत विद्यालय झारकोटसमेत घुम्ती कक्षाका लागि पोखरा प्रस्थान गरेको श्रेष्ठले जनाए ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा १० सामुदायिक विद्यालयमा कुल १ सय ४४ विद्यार्थी छन् । जसमा आधारभूत तहमा १२४ र मावि तहमा २० जना विद्यार्थी छन् । स–साना बालबालिका पढ्ने बालविकास केन्द्रमा ६० विद्यार्थी छन् । अहिले ती सबै विद्यार्थीलाई घुम्तीका लागि पोखरा झारिएको हो ।

यस्तै, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा रहेका ८ विद्यालयको आधारभूत तहमा कुल ११८ विद्यार्थी छन् भने बालविकास केन्द्रमा ४४ विद्यार्थी छन् । जसमध्येका अधिकांश विद्यार्थी बेंसी झरिसकेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका–२ विद्यालयका ७३ विद्यार्थी पनि बेंसी झरिसकेका छन् ।