संसदीय निर्वाचनको घोषणा


काठमाडाैं । बंगलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको अधिकारीले जनाएका छन् । सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका बिषयलाई लिएर आशंका उत्पन्न भइरहेका बेला निर्वाचन आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको हो ।

बंगलादेशका प्रमुख निर्वाचन आयुक्त नुरूल हुडाले राष्ट्रिय टेलिभिजनमार्फत दिएको जानकारीमा निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिसकेको छ । निर्वाचन आयोगको निर्वाचन मिति घोषणाप्रति प्रतिपक्षी दलले असन्तुष्टि प्रकट गरेको छ । उसले निर्वाचनलाई प्रजातान्त्रिक मूल्यमान्यता अनुसार गराउन सत्तापक्षबाट समस्या हुनसक्ने आशंका व्यक्त गर्दै प्रतिपक्षी समूहरूले विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

निर्वाचनमा सहभागी हुन आगामी नोभेम्बर १९ मा उम्मेदवारी दर्ता गरिने तालिका सार्वजनिक भएको छ । सरकारले उपचारका लागि स्वीकृति दिएपछि आफ्नो स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना भएकी प्रतिपक्षी नेत्री खालिदा जियालाई पुनः जेल पठाइएको छ । सशक्त प्रतिपक्षी नेत्री जियालाई जेलमा राखेर हुने निर्वाचन स्वच्छ हुनेमा प्रतिपक्षीले आशंका व्यक्त गरेको हो ।