राप्रपा विघटन, चोइटिएको २ वर्ष नपुग्दै दुई पार्टी एकीकरण


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबीच एकता प्रक्रिया शुरु भएको छ । चोइटिएको २ वर्ष नपुग्दै दुई पार्टी एकीकरण हुन लागेको हो ।

दुई पार्टी एकीकरणको लागि राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाबीच मंगलबार छलफल भएको छ । छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्ने समझदारी भएको छ ।

राप्रपा प्रजातान्त्रिकले एकताको सम्पूर्ण अधिकार अध्यक्ष राणालाई दिएको छ । केन्द्रीय कार्य सम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष राणालाई दिएकाे महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

एकीकरण प्रकृया अगाडि बढे पनि राप्रपाको वैचारिक दृष्टिकोण भने टुंगो लागि सकेको छैन । राप्रपाले पुन हिन्दूराष्ट्र र  संवैधानिक राजतन्त्रलाई राजनीतिक ऐजेण्डा बनाउने योजना बनाएको स्रोतले जनाएको छ । तर त्यसबारे दुवै दलका नेता तथा कार्यकर्ताको भावना बुझेर मात्र निर्णय लिने सहमति भएको छ ।

थापा र राणाले डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपालाई पनि समेट्ने योजना बनाएका छन् । त्यसको लागि केही दिनअघि राणा र डा. लोहनीबीच छलफल भएको स्रोतले बतायो । राप्रपाबाट अलग भएका डा. लोहनीले  एकीकृत राप्रपा राष्ट्रवादी खाेलेर त्यसकाे नेतृत्व गर्दै आएका छन् ।