दशैं–तिहारसँगै सबै ग्रामिण सडक सञ्चालनमा


रामधन राई, खोटाङ । कात्तिक–२०, दशैं–तिहार आए लगत्तै खोटाङको सवै ग्रामिण सडकहरु सञ्चालनमा आएका छन् । वर्षाका कारण गत जेठबाट नै अवरुद्ध वनेका जिल्लाका ग्रामिण सडक दशैं–तिहार अर्थात हिउँद लागेसँगै मर्मत गरेर सञ्चालनमा ल्याइएको हो ।

हाल जिल्लाका सबै स्थानीय तहमा सहज रुपमा यातायात सञ्चालनमा आएको खोटाङ यातायात प्रालिका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । जिल्लाका दश वटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निर्माण गरेको सडक मर्मत गरेपछि यातायात सञ्चालनमा ल्याइएको यातायात व्यवसायीले जनाएको छ ।

जिल्लामा निर्माण गरिएको दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–जालपा, दिक्तेल–चखेवा, दिक्तेल–मात्तिम, दिक्तेल–फोक्सिङटार, दिक्तेल–पञ्चमी लगायतका ठाउँमा यातायात सञ्चालन गरिएको छ । यातायात सञ्चालन भएपछि दशैं, तिहार तथा छट मनाउन घर आउने–जाने यात्रुलाई सहज भएको छ ।

ग्रामिण सडक सञ्चालनमा आएपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा पछिल्लो समय दैनिक उपभोग्यवस्तु किनमेल गर्ने उपभोक्ताको चाप बढेको व्यापारीहरुले बताएका छन् । आफ्नो घर छेउमा निर्माण गरिएको सडक सञ्चालनमा आएपछि गाडी चढेर दिक्तेलबजारमा किनमेल गरेर पुनः बेलुका घरमै पुग्न सकिएको यात्रुहरुले बताएका छन् ।

कतिपय गाउँमा बसोबास गर्ने सरकारी कर्मचारी समेत घरबाट आएर कार्यालयको काम गरेर पुनः घरमै पुग्ने गरेका छन् ।
कच्ची अवस्थामा रहेको दर्जन बढी सडकमा गाडी गुड्न थालेपछि गाउँगाउँमा उत्पादन भएको कृषि उपजले पनि बजार पाएको छ । यसअघि गाउँगाउँमा उत्पादित कृषि उपज यातायात अभावमा गाउँमै कुहिएर नष्ट हुने गरेको थियो ।