सडक मर्मत सुधार भएपछि गाउँ गाउँमा यात्रुबस सुचारु


नानीराम नेपाल, सिन्धुपाल्चोक ।
बर्खामा अवरुद्ध हुँदै आएका ग्रामीण सडकहरु मर्मत सुधारभएपछि गाउँबस्तिमै यात्रुबस पुग्न थालेका छन् । चाडपर्वलाई ध्यानमा राख्दै गाउँनगरले बजारकेन्द्र र गाउँबस्ति जोड्ने मुख्य सडकहरु मर्मतको काम गरेपछि ग्रामीण रुटहरुमा यात्रुबस सुचारु भएका हुन् ।

बर्खायाममा जिल्लाका कुनै पनि ग्रामीण रुटमा यात्रुवस सञ्चालन हुन सकेन । बर्खाले सडक क्षतविक्षत बनाएको सडक मर्मत सुधार गरेपछि ग्रामीण भेगमा यातायात सहज भएको जनप्रतिनीधिहरु बताउँछन् । चाडवाडका बेलामा ग्रामीण सहडकहरुमा पनि सवारी चाप बढ्ने भएकाले पनि मर्मत सुधार गरिएको जुगल गाउँपालिका–५ का अध्यक्ष सनत अधिकारी बताउछन् । सडक मर्मत सुधार भएसँगै यात्रुवसहरु गाउँसम्मै पुग्न थालेका छन् । ‘ढाँडे–कातिके खण्ड मर्मत भएपछि कातिकेसम्म नै यात्रुवस जान थालेको छ’, जुगल –५ का अध्यक्ष सनत अधिकारीले भने,–‘चाडवाडलाई लक्षित गर्दै हामीले यो सडक मर्मत र सफाई गरेका हौं ।’

गाउँपालिका र वडाको समन्यवमा जुगल –७ को याङलाकोटसम्म पुग्ने सडक मर्मत सुधार गरि यात्रुवस संचालनमा ल्याइएको वडाध्यक्ष दिलकुमार लामाले बताए । चाडपर्वलाई लक्षित गरेर सर्वसाधारणको सहजताका लागि सडक मर्मत सुधार गरिएको उनले बताए । ‘सर्वसाधारणका सहजताका लागि हामीले सडक मर्मत सुधार ग¥यौं’, अध्यक्ष लामाले भने,–‘सडक सुधार भएपछि याङलाकोटसम्म नै बस जान थालेको छ ।’

गाउँपालिकाभित्रका प्रमुख ग्रामीण सडकहरु मर्मत सुधारको काम भएपछि गाउँ गाउँमा बस जान थालेको बलेफी गाउँपालिका–७ का अध्यक्ष कार्केल लामा बताउँछन् । चाडपर्वलाई लक्षित गर्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयले संयुक्त रुपमा ग्रामीण सडक मर्मत सुधार र सफाई गरेको उनले बताए । ‘सडक मर्मत सुधार भएपछि चिम्लीङसम्म यात्रुवस जान थालेको छ’, वडाध्यक्ष लामाले भने ।