भक्तमान श्रेष्ठलाई एक वर्ष जेल, सवा १ करोड जरिवाना


काठमाडाैं । विशेष अदालत काठमाडौंले चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डाक्टर भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द तथा प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले श्रेष्ठलाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैदका साथै एक करोड १८ लाख ६६ हजार सात सय ७६ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । विशेष अदालतले उख्खेखित रकम बराबरको श्रेष्ठको सम्पत्ति जफत हुने फैसला समेत सुनाएको छ ।

क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डाक्टर श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गते एक करोड ६७ लाख ५७ हजार एक सय १३ रुपैयाँ सम्पत्ति अवैध आर्जन गरेको भन्दै विशेष अदालतमा ‘अकुत सम्पत्ति’को मुद्दा दायर गरेको थियो । क्यान्सर अस्पतालको अध्यक्ष रहँदा श्रेष्ठले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप पत्रमा दाबी गरिएको छ । डा. श्रेष्ठले अस्पतालको सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारी दुरुपयोग गरी गैरकानुनी रुपमा धनआर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको थियो ।

अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा आयोगको ऐन २०४८ को दफा २९ बमोजिम डाक्टर श्रेष्ठको सम्पत्ति जफत गरी राज्यकोषमा दाखिला गर्न माग गरिएको थियो । डा श्रेष्ठ क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सकका रूपमा २०५४ सालमा सेवा प्रवेश गरी १८ वर्ष सेवा गरेका थिए । क्यान्सर विशेषज्ञ श्रेष्ठ २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशक थिए ।

२०६३ सालदेखि २०६५ सालसम्म श्रेष्ठले १५ लाख २७ हजार रूपैयाँ आर्जन गरेकोमा कार्यकारी निर्देशक हुँदा तीन वर्षको अवधिमा नै ५० लाख रुपैयाँ अवैध ढंगले कमाएको अख्तियारको आरोपपत्रमा जनाएको थियो । श्रेष्ठले घर निर्माण गर्दा ४४ लाख ५४ हजार रुपैयाँ तथा जग्गामा ६५ लाख ८५ हजार रुपैयाँ खर्च गरेको भेटिएको अख्तियारको आरोप पत्रमा दाबी थियो । २०६९ भदौमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेपछि श्रेष्ठले ९४ लाख ३१ हजार रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारले आरोपपत्रमा उल्लेख थियो ।

श्रेष्ठको चितवनकै अन्य निजी स्वास्थ्य संस्थाहरु एनपीआई नारायणी सामुदायिक अस्पताल, चितवन अस्पताल प्रालि र नेपाल पोलिटेक्निकल इस्टिच्युटमा शेयर छ । श्रेष्ठ भरतपुरको नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष पनि हुन् ।