आयोजनाका गाडी फिर्ता गर्न खानेपानी मन्त्री मगरको निर्देशन


काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिका नाममा रहेका गाडीहरु अन्यत्र प्रयोग भैरहेको भन्ने विषय सार्वजनिक भएपछि खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भैरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिनुभएको छ ।

मन्त्री मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भैरहेको भन्ने विषयप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

मेलम्ची आयोजनाका लागि खरिद गरिएका ६० वटा गाडीहरुमध्ये मेलम्ची र खानेपानी मन्त्रालय बाहेक अन्यत्र ६ वटा गाडीहरु प्रयोग भएका छन् ।

बा १ झ ८७५९ नं।को टोयोटा प्राडो जीप प्रधानमन्त्री कार्यालयबाट व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लगिएको हो । त्यस्तै बा. १ झ ८९९५ नम्बरको टोयोटा प्राडो जीपसमेत प्रधानमन्त्री कार्यालयमा रहेको छ ।

बा ८ च ६७६० नं.को टोयोटा ल्याण्डक्रुजर जीप सहरी विकास मन्त्रालयमा रहेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजनाको बा १ झ ८७६३ नं. को प्राडो जीप प्रयोग गरिरहेको छ ।

सहरी विकास मन्त्रालयमा प्रयोग भैरहेको बा १ झ ७१९४ नं. को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भैरहेको बा ४ च १५०३ नं. को गाडी समेत फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन मन्त्रालयले निर्देशन दिएको छ ।