सर्लाहीमा गोली चल्यो, एककाे मृत्यु


सर्लाही । अज्ञात समुहको गोली प्रहारबाट सर्लाहीमा एकजनाको मृत्यु भएको छ । रामनगर गाँउपालिका–४ बहुअर्वामा अज्ञात समुहले गोलीहानी स्थानीय ६५ वर्षीय राम विलास महतोको मृत्यु भएको हो ।

बिहान ८ः ४५ बजेको समयमा महतोमाथि घर नजिकै गोली प्रहार भएको स्थानीयको भनाई छ । घटना लगतै आक्रोशित स्थानीयले घटना स्थलबाट शव उठाउन अबरोध गरेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ । प्रहरीले थप सहयोगमा शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएको छ । महतोमाथी गोली प्रहार गर्ने समुहको खोजी भैरहेको तथा घटनाको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताउनुभयो ।

यस्तै सोही स्थानमा सोमवार मात्र रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका थियो । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५/२० जनाको समूहले वडा अध्यक्ष महतोमाथी आक्रमण गरेका थिए ।

आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ, भने उहाँको बायाँ खुट्टा भाँच्चिएको छ । उहाँको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । स्थानीय श्री नारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको महतोको दावी छ । आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका थिए ।

उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । यस्तै गोली प्रहारबाट मृत्यु भएका महतो उनै वडा अध्यक्ष महतोको काका भएको बताईएको छ ।