१७ वर्ष बित्दा पनि बनेन रंगशाला


 

नेपाल समाचारपत्र, विराटनगर
मोरङको झापाबैजनाथपुरमा रङ्गशाला बनाउन करिब ८५ लाख रूपैयामा जग्गा अधिकरण गरेको १७ बर्ष वित्दा पनि राम्रो खेल्न योग्य मैदान अझै बन्न सकेको छैन । २०५५ सालमा १५ विगाहा १५ धुर जग्गा खरिद गरिएको थियो ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको सुविधा सम्पन्न अत्याधुनिक सुविधा सम्पन्न क्षेत्रीय रंगशाला निर्माण गर्ने जग्गा लिएको भएपनि अहिलेसम्म रङ्गशाला बन्न सकेको छैन । उक्त रंगशालामा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट स्टेडियम, ४ सय मिटर ट्रयाकिङ फिल्ड, अन्तराष्ट्रिय स्तरकै फुटबल ग्राउण्ड, कबडी मैदान, हक्की, मल्टिप्रपोज कभर्ड हल, बास्केटबल, भलिबल, सुटिङ हल, सफ्ट टेनिस, स्वीमिङ पुललगायतका संरचना निर्माण गर्ने गुरुयोजना निर्माण भएको हो ।

गुरुयोजना अनुसार चिल्डे«ेन पार्क, चमेना गृह, स्वीमिङ पुल र कार्यालय भवन समेत निर्माण गर्ने योजना बनाइएको छ । तर, गुरुयोजना अनुसार कति लागत आउँछ भन्ने विषयमा पूर्वाञ्चल खेलकुद विकास समिति पनि अनविज्ञ छ । गुरुयोजना अनुसार अरबौं बजेट लाग्ने अनुमान छ । त्यही अनुसारको लगानी आउनका लागि सरकारले दाता नै गुहार्नुपर्ने समितिको भनाइ छ । प्रस्तावित यस रंगशालामा भौतिक पूर्वाधार निर्माणका लागि भन्दै विभिन्न समय र चरणमा बजेटहरु आए तरपनि रंगशाला निर्माणका लागि आवश्यक सबै पुर्वाधारहरु निर्माण हुन सकेको छैन् ।

२०६५÷६६ मा जग्गा घेराबाराका लागि भन्दै आएको ६८ लाख ८५ हजार बजेटबाट यहाँ कम्पाउण्ड वाल र एकतले कार्यालय भवन निर्माण गरिएको छ । त्यस्तै ६९÷७० र ७०÷७१ मा क्रिकेट पिच र तारजालिका लागि परिषद्बाटै ठेक्का लागेर निर्माण कार्य सम्पन्न गरिएको छ ।

आर्थिक वर्ष ७१÷७२ मा प्याराफिट निर्माणका लागि १० लाख त्यस्तै ७२÷७३ मा पुनः क्रिकेट पिच, कम्पाउण्ड वाल बनाउन भन्दै ४० लाख बजेट आयो । त्यसपछि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा भएको खर्चसहित अहिलेसम्म लगभग ७ करोड बजेट खर्च भइसकेको छ । रङ्गशालामा विना योजना पूर्वाधार निर्माण गरेकाले सबै खेलका खेल स्थल नबन्ने भएको छ ।

खेल मैदान बन्नु त परै जाओस जग्गाको संरक्षण पनि हुन सकेको छैन । वर्षाको पानीले जमिनको बिचमा खोल्सो बनाएर खोलाको रूप लिइसक्यो । रोकथामका लागि लाखौं रुपियाँ खर्चिए पनि समस्या ज्यूँका त्यूँ छ ।