‘गृह प्रशासन अक्षम’


धनवीर दाहाल, रुकुम
पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले अहिलेको गृह प्रशासन अक्षम भइसकेको दावी गर्नुभएको छ । हत्यारा, बलात्कारीलाई पक्राउ गरी कार्वाही गर्न नसक्नुले गृह प्रशासन अक्षम साबित भएको उहाँको ठोकुवा छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य कंडेलले तत्कालीन समयमा प्रदेशहरुका राजधानी तोक्दा गल्ती भएको बताउनुभएको छ ।

सोमबार रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कँडेलले भूगोल समेत नमिलेको र घनाबस्ती भएका स्थानमा राजधानी तोकिँदा नेताहरुले भोटको राजनीति गरेको जस्तो देखिएको बताउनुभयो । तत्कालीन सरकारको नेतृत्व गरेको कारण नेपाली काँग्रेसले पनि त्यसको अपजस लिनुपर्ने उहाँको भनाई छ । ‘कहिँ न कँहि नेपाली काँग्रेसको पनि यसमा कमजोरी छ ।’ उहाँले भन्नुभयो,‘कम्युनिष्टले पनि यसलाई सच्याउन नसक्नु अर्को कमजोरी हो ।’

प्रदेशको राजधानी भूगोल नापेर बीचमा पर्ने खाली ठाउँमा नयाँ शहरको विकास गर्दै निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै वर्तमान सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै नेता कँडेलले आरोप लगाउनुभयो । प्रधानमन्त्रीले गफ मात्र गरेर समृद्धि नहुने भन्दै सरकारले देखिने गरी काम गर्न नसकेको उहाँको भनाइ थियो ।

नेपाली काँग्रेसले विधान संशोधन गर्दै नयाँ संरचना अनुसारको संगठन निर्माण गर्न लागेको र यसबाट संगठन सुदिृढिकरण हुने कंडेलले विश्वास व्यक्त गर्नुभयो । जिल्लाको बाँफिकोट गाउँपालिकामा काँग्रेस निकट खेलकूद संगठनले आयोजना गरेको कार्यक्रम समापनमा आउनुभएका नेता कंडेलले आइतबार उक्त कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।