कपिलवस्तु दुर्घटना अपडेट: मृतक तीनै जनाको पहिचान खुल्यो, तीनको अवस्था गम्भिर


सीताराम चौधरी, कपिलवस्तु । कपिलवस्तुमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिङ्गे जङ्गलमा यात्रुबाहक बस र टिप्पर एक आपसमा ठोक्किदा बसमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङ गढवा गाउँपालिका वडा नं. ४ की पूजा नेपाली, सोही वडाका चार बर्षिय सुशान्त सुनार र गढवा १ का बल्लु थारु कुमाल रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

बसमा २८ जना र टिप्परमा तीन जना सवार थिए । दुबै सवारीका ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले बताउनुभयो ।

गम्भिर घाइते हुनेहरुमा दाङ देउखुरीका चिरनलाल श्रेष्ठ, दाङका विष्णु खनाल र दाङ गढवाका मनिराम चौधरी रहेका छन । उनीहरुको बुटबलमा उपचार भैरहेको उहाँले बताउनुभयो । अन्य घाइते सबैको कपिलवस्तु र रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र बिपरित दिशामा जाँदै गरेको लु २ ख १४७७ नम्बरको टिप्पर एक आपसमा ठोक्किएका हुन । दुवै सवारी तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जंगल क्षेत्र हुँदा दुवै सवारी तीव्र गतिमा रहेको र घुम्तिमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।