कपिलवस्तुमा बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या


सीताराम चौधरी, कपिलवस्तु ।
घरमा सुतिरहेको बेला बन्चरो प्रहार गरी कपिलवस्तुमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका १, बनकट्टा (तकदीरनगर) का ४० वर्षीय बसन्त परियारले गएराति करीब ११ बजेको समयमा सुतिरहेकी श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहारबाट ३५ वर्षीय सुमित्रा परियारको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।


“राति खाना खाएर घरभित्र भुईंमा विस्तरा लगाएर बाबा, मम्मी, बैनी र म सँगै सुत्यौं । हामी निदाएको बेला बाबाले मम्मीलाई मारेर भाग्नुभयो । रगतले कपडा भिजेपछि बैनी र म बिउँझियौं । हामी बिउँझिंदा मम्मीको सास पनि थिएन ।” –माइलो छोरा १२ वर्षे सुजनले रुँदै भने । “मम्मी घटना देखेर रुन कराउन थालेपछि अंकल अन्टी आउनुभयो । त्यसपछि गाउँमा हल्ला गरेपछि अरु मान्छे पनि आए” –सुजनले थपे ।


स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाको टोली राति नै घटनास्थल पुगेको थियो । मृतक सुमित्राको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाएको बताएको छ । श्रीमतीको हत्या गरी फरार भएका बसन्त परियारलाई इलाका प्रहरी कार्यालय गणेशपुरले दिउँसो करीब २ बजेतिर विजयनगर १, मधनगराबाट पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटाको जिम्मा लगाएको गणेशपुरका प्रहरी निरीक्षक नबीन पौडेलले जानकारी दिनुभयो । श्रीमती हत्या गर्ने बसन्तलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो । हत्याको खास कारण खुल्न नसकेपनि मदिरा सेवन गरी श्रीमतीलाई मारेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।


दाङको राप्ती गाउँपालिका बडाडाँडाबाट पाँच वर्षअघि बसाई सरेका उनीहरु मिहिनेत मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए । यसअघि पनि बाहिर काममा गएको बेला श्रीमतीलाई हानेर टाँका लगाउनुपरेको छोरा सुजनले बताए । ४÷५ दिनअघि घरबाट निस्केको बसन्त आइतबार मात्र घर फर्केको बुवा जितबहादुर परियारले बतउनुभयो । आएको राति नै आफ्नै श्रीमतीलाई मा¥यो दुःखी हुँदै उहाँले भन्नुभयो ।

बसन्तको जेठो छोरा अशोक १६ वर्षका छन् । उनी कामको सिलसिलामा बाहिर छन् । अर्का छोरा सुजन १२ वर्षका भए । उनी नेपाल आदर्श मावि शिवपुर कक्षा ३ मा पढ्छन् । छोरी १० वर्षीय बुनु परियार अहिले नेपाल आदर्श मावि कक्षा २ मा पढ्दै आएकी छन् । घटनापछि अहिले छोराछोरी विचल्लीमा परेका छन् ।