मोतीविन्दु शलयक्रिया शिविर सम्पन्न


काठमाडौ, (नेस)
युवा नेत्र सेवाको आयोजनामा यहि कार्तिक ८ देखि १० गते सम्म कीर्तिपुर स्थित नगरमण्डप श्री कीर्ति विहारमा २२औं निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर आयोजना सम्पन्न गरेको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा समाजसेवारत यस संस्थाले विगत २३ वर्षदेखि विभिन्न कार्यक्रमहरुमार्फत गरीव तथा असहाय आँखाका विरामीहरुको सेवा पु¥याउँदै आईरहेको छ । कार्तिक १० गते आयोजना गरेको औपचारीक कार्यक्रम काठमाडौं क्षेत्र नंं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठज्यूबाट पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नु भएको थियो । उहाँले युवा नेत्र सेवाले एक कप चिया दान कार्यक्रमबाट संकलन गरेको रकमबाट सम्पन्न भएको उक्त शिविर उदाहरणिय रहेको भन्दै आयोजक संस्थाको प्रसंशा गर्नुभयो ।

शिविरमा ३७ जना मोतिविन्दुका विरामीहरुको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले जानकारी गराउनुभयो । शिविरमा ढाडागाउँ, कातिके, नाङ्गलेभारी, जहरसिंपौवा, धर्मस्थली, नुवाकोट, मनमैजु, थानकोट, बलम्बु, सतुङ्गल आदि क्षेत्रका विरामीहरुको शल्यक्रिया गरीएको थियो ।

साथै विरामीहरुलाई आवश्यक औषधि चस्मा पनि निःशुल्क वितरण गरिएको थियो । शल्यक्रिया गरीएका सम्पूर्ण विरामीहरुलाई आगामी शनिवारका दिन फलोअप जाँचको पनि व्यवस्था गरेको जानकारी गराउनुभयो ।