परिसंघको प्रतिनिधिमण्डल कतार जाँदै


काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्तिक १२ गतेदेखि शुरु हुने कतारको चारदिने औपचारिक भ्रमण दलको साथमा नेपाल उद्योग परिसंघका तर्फबाट परिसंघका अध्यक्ष हरिभक्त शर्मासहित चार जना प्रतिनिधि मण्डल समेत १२ गते कार्तिकमा दोहा प्रस्थान गर्ने भएको छ ।

अध्यक्ष शर्माको अलवा परिसंघका राष्ट्रिय परिषद् सदस्य तथा पँर्वाधार सेलका संयोजक वीरेन्द्रराज पाण्डे, राष्ट्रिय परिषद् सदस्य तथा परिसंघ प्रविधि समितिका संयोजक दिलीप अग्रवाल र राष्ट्रिय परिषद सदस्य तथा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी समेत उक्त भ्रमण दलमा समावेश छन् ।

भ्रमण कार्यक्रम अनुसार राष्ट्रपतिको उस्थितिमा कार्तिक १३ गते कतारका उद्योगी–व्यवसायी एवम् नेपालका निजी क्षेत्रका प्रतिनिधि मण्डलका बीच आयोजित ‘नेपालमा लगानी तथा व्यवसायको अवसर’ विषयको अन्तरक्रिया कार्यक्रमा परिसंघका अध्यक्ष शर्माले नेपालको बदलिँदो परिवेशका सन्दर्भमा व्यवसाय र लगानीको सम्भावना बारेमा नेपालको निजी क्षेत्रको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

करिब ४० लाख वर्क परमिट भिसामा नेपाल बाहिर जाने नेपाली श्रमिकमध्ये एक चौथाइ अर्थात १० लाख ९२ हजार कतारमा रहेको तथ्यांक देखिन्छ । कतारसँग नेपालको व्यापारघाटा सन् २०१३ मा ९७ करोड रहेकोमा २०१७ मा नेपालले करिब ७८ लाखको निर्यात तथा करिब ७७ करोडको आयात गरी करिब ७६ करोडको व्यापारघाटा व्यहोरी रहेको छ ।

नेपालबाट कतारमा निकासी हुने मुख्य वस्तुमा ऊनी गलैंचा, चाउचाउ, नुडल्स, चिया प्रमुख छन् भने कतारबाट आयात हुने सामानमा पोलिमरको इथिलिन, विटुमिन एवम् पेट्रोलियमजन्य पदार्थ प्रमुख छन् । नेपालबाट निर्यात र संयुक्त लगानी सम्भाव्य भएमा उद्योगमा स्प्रिड वाटर, खाद्य प्रशोधन सम्बन्धी उद्योग, जलस्रोत, बैंकिङ, पर्यटन आदि प्रमुख छन् ।