१ सय ७३ वटा सडक रुटको नयाँ भाडादर हेरफेर


गणेश घिमिरे, इलाम
इलाममा सञ्चालित सवारी साधनले यात्रुहरुबाट मनपरी भाडा असुल गरीरहेको गुनासो बढिरहेको र सञ्चार माध्यममा पनि समाचारहरु प्रशारण प्रकाशन भएपछि इलाम सदरमुकामबाट छुट्ने विभिन्न स्थानको नयाँ भाडादर निर्धारण गरिएको छ ।

जिल्ला यातायात व्यवस्थापन समितिले १ सय ७३ वटा सडक रुटको नयाँ भाडादर हेरफेर गरेकामा कुनै रुटको दर बढाइएको छ भने कुनैको घटाइएको छ । यातायात व्यवस्था विभागले देशभरका पक्की सडकको भाडादर १० प्रतिशतसम्म बढाउन सक्ने निर्णय गरेको थियो । इलामका कच्ची सडकमा भने २०७३ साल चैतमा तोकिएको भाडादर लागू भइरहेको थियो ।

नयाँ भाडादर अनुसार अब इलाम सदरमुकामदेखि झापा बिर्तामोडसम्म जिपको भाडादर २ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि सवारीका साधनले अढाई सय रुपैयाँ लिइरहेको ८४ किलोमिटरको यो रुटमा १० प्रतिशत भाडा बढ्दा २ सय ७५ रुपैयाँ कायम हुनुपर्ने हो । तर, यातायात व्यवस्था विभागले इलामदेखि झापाको सुनमाईसम्मको भाडादर मात्रै तोकेकाले बिर्तामोडसम्म अढाई सय रुपैयाँमै पनि यात्रु ओसार्न नसकिने व्यवसायीको गुनासो थियो ।

इलाम–बिर्तामोडको भाडा २ सय ९० रुपियाँ कायम

समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बिर्तामोड–इलामको भाडादर झापाका सवारी साधनले ३ सय रुपैयाँ तोकेपनि इलामका व्यवसायीले २ सय ९० लिने सहमति भएको बताए । इलामदेखि ४ किलोमिटरमा रहेको बिब्ल्याँटे बजार पुग्न अब ३ रुपैयाँ भाडा बढेको छ ।

यो रुटको भाडा २७ पुरयाइएको छ । मंगलबारे–बिर्तामोड ६९ किलोमिटर कच्ची सडकको बस भाडादर साढे ४ सय, राँके–दमक ७८ किलोमिटरको बसको भाडा ५ सय रुपैयाँ कायम गरिएको छ । ३१ किलोमिटर पक्की सडक रहेको इलाम–मंगलबारेको भाडादर भने १ सय ७० रुपैयाँ कायम गरिएको छ ।

यसअघि भाडा निर्धारण गर्दा कच्ची सडक रहेकाले २ सय रुपैयाँ भाडा तोकिएकामा अहिले यो रुट कालोपत्रे भएपछि भाडादर घटाइएको प्रजिअ तिम्सिनाले जानकारी दिए । समितिले जिल्लाका सडकको अवस्था, यसअघि तोकिएको भाडादर र विभागले तोकेको मापदण्डलाई आधार बनाएर नयाँ भाडादर निर्धारण भएको बताइएको छ ।

साविकमा लिएको भाडादरमा १० प्रतिशतभन्दा बढी कतै नबढाइएको र अवस्था सुध्रिएका कच्ची सडकको भाडादर घटेको बताइएको छ । विभागले तोकेभन्दा बढी भाडा व्यवसायीले नलिने र नयाँ भाडादर अनिवार्य रूपमा सबै सवारी साधनमा यात्रुले देख्नेगरी टाँसिने भएको छ । जिल्लाका राजनीतिक दल, व्यवसायीलगायत समेतको सहभागितामा बसेको बैठकले सवारी साधनले यही कात्तिक १५ देखि यात्रुलाई टिकट अनिवार्य दिनुपर्ने, काउन्टरमा बस्ने कर्मचारीले आफ्नो र आफ्नो संस्थाको परिचय खुल्ने परिचयपत्र अनिबार्य लगाउनु पर्ने भएको समितिले जनाएको छ ।