शान्ति सुरक्षामा समुदायको साझेदारी खोज्दै प्रहरी


महेश न्यौपाने, रोल्पा
समुदायसंगको साझेदारीमा जनतालाई शान्ती सुरक्षा दिने उद्धेश्यका साथ नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम आरम्भ गरेको छ । जिल्ला प्रहरी परिसर लिवाङमा आईतवार आयोजित एक कार्यक्रमका वीच जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले उक्त कार्यक्रमको औपचारिक उद्घाटन गरे ।

“शान्तीपूर्ण एवम सुरक्षित समाज निर्माणका लागि” भन्ने मान्यता अनुरुप उक्त कार्यक्रम आरम्भ गरिएको हो । नेपाल प्रहरी, स्थानीय तह, समुदाय,सामाजिक संस्था र विद्यालय वीच सुमधुर सम्वन्ध स्थापित गर्दै शान्ती सुरक्षा स्थापना गनएका लागि उक्त कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक दीपक खड्काले जानकारी दिए ।

वदलिदो संरचना अनुसार स्थानीय सरकार र स्थानीय प्रहरी वीच समन्वय र सहकार्य गर्दै जनतालाई सुरक्षाको अनुभूती दिलाउने प्रमुख दायित्व हो प्रहरी नायव उपरिक्षक खड्काले भने । कार्यक्रम अन्तरगत गाउँपालिका, नगरपालिका, वडा र विद्यालय स्तरमा विभिन्न खालका समिति गठन गरिने भएको छ । सो अवसरमा वढी भन्दा वढी जनताको सहभागितामा विभिन्न चेतनामुलक कार्यक्रम समेत आयोजना गरिने वताइएको छ ।

कार्यक्रमको उद्घाटन मन्तव्य व्यक्त गर्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले प्रहरी प्रति जनताको वुझाईमा व्यापक परिवर्तन ल्याउन कार्यक्रमले सहयोग गर्ने विचार व्यक्त गरे । वदलिदो परिवेश अनुसार प्रहरीमा समेत व्यापक सुधार आउदा समेत जनतामा अझै प्रहरी प्रतिको वुझाई सकारात्क छैन प्रमुख वुढाले भने । प्रहरी जनताको सेवक हो भन्ने अनुभूती दिलाउन प्रहरी र समुदाय वीचको अन्तरघुलन जरुरी छ प्रमुख वुढाले भने ।

कार्यक्रममा प्रहरी समुदाय साझेदारी कार्यक्रमको संझौता पत्र जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक दीपक खड्काले रोल्पा नगरपालिकाका प्रमुख पूर्णवहादुर केसीलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरित संझौता पत्र अनुसार स्थानीय तह र स्थानीय प्रहरी वीच समन्वयको आधारमा जनताको सुरक्षामा लाग्ने नगर प्रमुख केसीले प्रतिवद्धता व्यक्त गरेका थिए ।